April 18, 2026, Saturday
२०८३ बैशाख ५

नमुना जहाज उडाएर चर्चा पाएका आर्यनको अर्को आविष्कार ‘मेडिकल ड्रोन’

घोडाघोडी (कैलाली) । एक वर्षअघि नमुना जहाज उडाएर चर्चा पाएका कैलालीका आर्यन विश्वकर्माले हालै मेडिकल ड्रोन बनाउन सफल भएका छन् ।

लम्कीचुहा नगरपालिका–९, प्रतापपुर भुर्राघाटका आर्यनले प्रत्यक्ष हवाईजहाज नदेखि इन्टरनेटको माध्यमबाट हवाईजहाजको बारेमा जानकारी बटुलेर हुबहु रिर्मोट कन्ट्रोलबाट चल्ने नमुना हवाईजहाज बनाएर उडाएको समाचार प्रकाशन भएपछि उनलाई धनगढीस्थित चैतन्य पाठशालाले छात्रवृत्तिमा पढाइ रहेको छ ।

सो विद्यालयमा कक्षा ९ को परीक्षा दिएर बसेका १५ वर्षीय आर्यनले मेडिकल ड्रोन बनाउन विद्यालयले सहयोग गरेको बताउछन्। उनले आफूले बनाएको ड्रोनले दुई किलोसम्मको मेडिकल सामग्री बोकेर एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने जानकारी दिए। आर्यनले भने, “कुनै बिरामी औषधी, इन्जेक्सन नपाएर छट्पटिइरहेको अवस्थामा मैले बनाएको ड्रोनले बिरामीसम्म पुर्‍याउन मद्दत गर्ने छ, आकस्मिक सेवाका लागि ड्रोनको माध्यमबाट मेडिकल सामग्री पठाउन सकिने छ ।”

आर्यनले आफूले बनाएको ड्रोनले कुनै औपचारिक कार्यक्रममा आकाशमा झन्डा फहराउने तथा पुष्प वर्षा गराउनका लागि प्रयोग गर्न सकिनेसमेत जानकारी दिए। हालै धनगढीमा भएको धार्मिक कार्यक्रमको उद्घाटनमा सो ड्रोनबाट पुष्प वर्षा गरिएको विद्यालयले जानकारी दिएको छ ।

कैलालीको प्रतापुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेका आर्यन अभाव र दुःखमा हुर्कदै गरेका बालक हुन । उनी चार वर्षको हुँदा भारतमा रोजगारीका लागि गएका बुवा भरत विश्वकर्माको करेन्ट लागेर उतै निधन भयो । पतिको निधनपछि आर्यन र दुई छोरीको लालनपालनदेखि सबै जिम्मेवारी आमा राजेश्वरी विश्वकर्माको काँधमा आयो ।

आर्थिक अभावकै कारण गाउँमै खुम्चिएका आर्यनको अद्भूत क्षमताको चर्चा भएपछि धनगढीस्थित चैतन्य पाठशालाले निःशुल्क अध्ययनका लागि गत वर्ष धनगढी लगेको आर्यनका काका नृप विश्वकर्माले जानकारी दिए ।

महावीर पुनबाट प्रभावित आर्यनले भविष्यमा वैज्ञानिक बन्ने सपना रहेको सुनाए । उनले भने, “साँच्चिकै हवाईजहाज बनाएर आमा, अङ्कल, दिदीहरूलाई त्यसैमा बसाएर उडाउने सपना छ ।” चैतन्य पाठशाला धनगढीका सञ्चालक गणेशप्रसाद जोशीले आर्यन विश्वकर्माको ९ कक्षादेखि १२ कक्षा पढाउने जिम्मा विद्यालयले लिएको बताउछन् ।

उनले भने, “आर्यनको एक वर्षको पढाइ, बसाइका लागि वर्षको पाँच लाख रुपियाँ खर्च विद्यालयले बेहोर्ने गरेर जिम्मा लिएका छौँ  । उनी अनुशासित लगनशील छन् । एआईको प्रयोगबाट आर्यनले ड्रोन बनाएका हुन् । उनलाई सिक्नका लागि चाहिने सबै कुरा विद्यालयले व्यवस्था गरेको छ ।”

आर्यनले बनाएको ड्रोन रिर्मोट कन्ट्रोलबाट चल्ने भएकाले यसको व्यावहारिक प्रयोगमा ल्याउनका लागि यसको अझै धेरै अध्ययन र प्रयोगको आवश्यकता रहेको सञ्चालक जोशीले उल्लेख गरे ।

सञ्चालक जोशीले आफ्नो विद्यालयमा आएपछि आर्यनले आरसी प्लेनलगायत सेन्सरबाट चल्ने अन्य सामग्रीसमेत बनाएको जानकारी दिए । उनले विद्यालयमा स्टिम डिर्पाट रहेको र विज्ञान र अनुसन्धानका लागि विभिन्न इनोभेसन (खोज) मा विद्यार्थीलाई सहयोग पुगेको जानकारी दिएका छन्। गोरखापत्रबाट