आइपिएल : राजस्थानलाई हराउँदै कोलकाताले निकाल्यो पहिलो जित, आज लखनउ र हैदराबादबीच खेल हुदै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल)मा आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले जित निकालेको छ। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरूसँग पराजित भएको कोलकाताले दोस्रो खेलमा राजस्थानलाई हराएर आफ्नो पहिलो जित दर्ता गरेको हो।
गएराति गुवाहटीस्थित बर्सापारा क्रिकेट स्टेडियममा भएको खेलमा कोलकाताले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो। कोलकाताले १ सय ५२ रनको लक्ष्य १७.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
कोलकाताको जितमा ओपनरका रुपमा आएका क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले । डि ककले अविजित रहँदै ६१ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ९७ रन जोडे ।
अंगकृष्ण रघुवंशी १७ बलमा २२ रनमा अविजित रहे । कप्तान अजिक्या राहाणे १५ बलमा १ चौका र १ छक्काको सहयोगमा १८ रनमा आउट भए । ओपनर मोइन अलि ५ रनमा आउट भए । राजस्थानलका लागि वानिन्दु हसरंगाले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनायो ।

राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाएका थिए । उनले २८ बलको सामना गर्दै ५ चौका प्रहार गरेका थिए । ओपनर सञ्जु स्यामसनले ११ बलमा १३ तथा नितिश रानाले ९ बलमा ८ रन जोडेका थिए ।
ओपनर यशस्वी जैसवाल २४ बलमा २ चौका र २ छक्काको सहयोगमा २९ रनमा आउट भएका थिए । कप्तान रियान पराग १५ बलमा ३ छक्काको सहयोगमा २५ रन जोड्दै आउट भएका थिए । जोफ्रा आर्चर ७ बलमा २ छक्काको सहयोगमा १७ रन जोड्दै आउट भए ।
कोलकाताका लागि हर्षित राना, वैभव अरोरा, मोइन अलि र वरुण चक्रवर्तीले समान २ तथा स्पेन्सर जोनसनले १ विकेट लिए ।
पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित कोलकाता २ खेलमा २ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ ।
लगातार दोस्रो हार बेहोरेको राजस्थान अंक बिहिन रहँदै पुछारमा छ । पहिलो खेलमा राजस्थान सनराइजर्स हैदरावादसँग पराजित भएको थियो ।
आज लखनउ र हैदराबादबीच खेल हुदै
आइपिएलमा आज लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदराबादबीच खेल हुदैछ । हैदराबादको घरेलु मैदान राजिब गान्धि क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहीवार राती ७ः४५ मा सुरु हुनेछ ।
पहिलो खेलमा जित हात पारेको हैदराबाद दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको थियो ।
लखनउ भने सिजनको पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । लखनउले सिजनको पहिलो खेल कमजोर बलिङका कारण हारेको थियो ।
२ सय १० रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्सले ६ विकेटको क्षतिमा १ सय १३ रन बनाउँदा नतिजा लखनउको पक्षमा आउने अनुमान गरिएको थियो । तर, लखनउले कमजोर बलिङकै कारण यो खेल हार्न पुग्यो ।
लखनउसँग रवि बिश्नोई र शार्दुल ठाकुर मात्र अन्तर्राष्ट्रिय अनुभव भएका बलर थिए । तर, शार्दुलले सुरुमा दुई विकेट लिएपनि दुई ओभर मात्र दिइयो । बिश्नोईले २ विकेट लिए पनि ५३ रन खर्चिन पुगे ।
उता, हैदराबादले भने घरमा हुने खेलमा परिवर्तन गर्ने छैन । राजस्थान रोयल्सविरुद्ध ट्राभिस हेड र अभिषेक शर्माले उत्कृष्ट सुरुवात दिलाएका थिए । इशान किशनले ४७ बलमा अविजित १ सय ६ रन बनाए ।
शीर्ष ६ खेलाडीमध्ये प्रत्येकको स्ट्राइक रेट २०० वा सोभन्दा बढी थियो । यसले गर्दा हैदराबादले आइपिएलको सर्वाधिक योगफलको आफ्नै रेकर्डभन्दा एक रन कम बनाएका थिए ।
हैदराबाद र राजस्थानबीचको उक्त खेल उच्च स्कोरिंग खेल थियो । हेदराबादका बलरहरूले पनि धेरै रन खर्चिएका थिए । हर्षल पटेलबाहेक हैदराबादका सबै तीव्र गतिका बलरले १० भन्दा बढीको इकोनोमीमा रन खर्चेका थिए ।
हैदराबादले आफ्नो बलिङमा सुधार गर्ने लक्ष्य राख्नेछ ।
पुर्व टोलीविरुद्ध खेल्दै मारक्रम
एसए २० मा सनराइजर्स इस्टर्न केपको कप्तानी गरेका एडेन मार्कराम सन् २०२२ देखि २०२४ सम्म सनराइजर्स हैदराबादका सदस्य थिए । उनले हैदराबादका लागि ३६ इनिङ्स खेल्दै १३१.०१ को स्ट्राइक रेटमा ८ सय ४९ रन बनाएका थिए । यस खेलमा उनले आफ्नो पूर्व टोलीविरुद्ध खेल्नेछन् ।
लखनऊ सुपर जायंट्स (सम्भावित-११) – एडेन मार्कराम, मिचेल मार्श, निकोलस पूरन, ऋषभ पन्त (कप्तान / विकेटकीपर) आयुष बदोनी, डेविड मिलर, शाहबाज अहमद, शार्दुल ठाकुर, रवि बिश्नोई, आवेश खान, दिगवेश राठी, मनीमारन सिद्धार्थ।
सनराइजर्स हैदराबाद (सम्भावित-११) – ट्रेविस हेड, अभिषेक शर्मा, इशान किशन, नितीश कुमार रेड्डी, हेनरिक क्लासेन, अनिकेत वर्मा, अभिनव मनोहर, प्याट कमिंस (कप्तान), सिमरजीत सिंह, हर्षल पटेल, मोहम्मद शमी, एडम जाम्पा।





प्रतिकृया दिनुहोस्