April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै धर्ना बसे कर्मचारी

धनगढी। स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै सुदूरपश्चिम प्रदेश स्थानीय तहका कर्मचारीले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका हुन।

सुदूरपश्चिम प्रदेशका कर्मचारीहरूले सोमबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूल गेटमा धर्ना सुरू गरेका छन् । कर्मचारीहरूले स्थानीय तह कर्मचारी संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका हुन।

फागु पूर्णिमा पर्व (होली) को सार्वजनिक बिदाका बेला आन्दोलन रोकेका उनीहरूले सोमबारदेखि फेरि आन्दोलन थालेका हुन् ।

‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ तत्काल जारी हुनुपर्ने उनीहरूको प्रमुख माग रहेको छ ।

प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिमा विचाराधीन रहेको विद्येयकमा रहेको व्यवस्था हेरफेर हुनुपर्ने माग गर्दै माओवादी र रास्वपा निकट विद्यार्थीहरू आन्दोलित भएका बेला कर्मचारीहरू समेत आन्दोलनमा उत्रिका हुन् ।