महानगर बहस : उपमहानगरप्रति आशावादी धनगढीका जनता

धनगढी । शिक्षा, स्वास्थ्य, सरसफाइ, सडक विस्तार, हरियाली प्रवर्द्धन, सडक बत्तीजस्ता क्षेत्रमा धनगढी उपमहानगरपालिकाले गरेका कामको स्थानीय बासिन्दाले प्रशंसा गरेका छन् । भित्री सडक निर्माण, बजार अनुगमन, रोजगारी सिर्जना जस्ता जनसरोकारका विषयमा पनि उपमहानगरको ध्यान जानुपर्ने उनीहरूले जनाएका छन् ।
कान्तिपुर टेलिभिजनको ‘महानगर महाबहस’ कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले करको दरभन्दा दायरा बढाउन उपमहानगरलाई आग्रह गरे । युवालाई स्वरोजगार बनाउने योजनास्वरूप थालिएको ‘रोजगार मेला’ को उनले प्रशंसा गरे । प्रत्येक वडामा वार्षिक कम्तीमा ५ युवालाई स्वरोजगार हुने गरी कार्यक्रम ल्याउन उनले सुझाव दिए ।
धनगढी–३, बोराडाँडीस्थित त्रिभुवन माविका प्रधानाध्यापक सीताराम अवस्थीले सामुदायिक विद्यालयप्रति समुदाय र अभिभावकको दृष्टिकोण परिवर्तन गराउन महानगरले पहल गर्नुपर्ने औंल्याए । संस्कृतिविद् तथा साहित्यकार पदमराज जोशीले धनगढीको विकास मोडेल राम्रो भएको उल्लेख गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । धनगढी–३ की निता चन्द शाहीले मुख्य सडक झकिझकाउ भए पनि भित्री सडक बन्न नसकेको गुनासो गरिन् । उनले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
थारू समुदायका अगुवा माधव चौधरीले फोहोर व्यवस्थापनका नाममा घरको कोठाअनुसार शुल्क लिने काम गलत भएको तर्क गर्दै त्यसलाई सच्याउनु आग्रह गरे । धनगढी लेडी जेसिजकी अध्यक्ष संगीता न्यौपानेले सेती प्रादेशिक अस्पतालमा विगत र अहिलेमा कुनै सुधार नभएको भन्दै उपमहानगरलाई ध्यानाकर्षण गराइन् । स्थानीय नेत्रा सिवाकोटीले सडकमा ट्राफिक लाइट जडान नहुँदा सर्वसाधारणलाई समस्या भएको बताइन् । उपमहानगरभित्र लागूऔषध दुर्व्यसनीमा परेका युवाको संख्या बढ्दै गएको भन्दै केही सहभागीले चिन्ता व्यक्त गरे ।
सुदूरपश्चिम यातायात व्यवसायी समितिका प्रमुख देवीलाल जोशीले ग्रामीण भेगमा सञ्चालन गर्न भनी सुरु गरिएको नगर बससेवा धनगढी–अत्तरियामा मात्र केन्द्रित भएको बताए । महिला अधिकारकर्मी माया निहार अन्सारीले धनगढीमा बसोबास गरिरहेका मुस्लिम सुदायका बालबालिकाको जन्मदर्ता उपमहानगरले नगरिदिँदा बालबालिका शिक्षाबाट वञ्चित भइरहेको समस्या सुनाइन् ।
अस्वस्थताका कारण उपमहानगर प्रमुख गोपाल हमाल कार्यक्रममा उपस्थित हुन नसकेपछि उपप्रमुख कन्दकलाकुमारी रानाले नगरवासीका चासो र चिन्ताका विषयमा बोलेकी थिइन् । धनगढीमा प्रमुख, उपप्रमुख र वडाध्यक्षले एकजुट भएर भौतिक पूर्वाधार र सरसफाइका क्षेत्रमा नमुना काम गरेको बताइन् । छाडा गाईबस्तु व्यवस्थापन गर्न गौशाला निर्माण, उज्यालो धनगढी अभियानलाई प्राथमिकतामा राखेर काम गरिएको उनको भनाइ थियो । सबै वडामा प्रत्येक महिना वडा विशेषज्ञ क्लिनिक, खोजी खोजी अपांगता सहायता सामग्री वितरण जस्ता कार्यक्रम चलाइएको पनि उपप्रमुख रानाले जानकारी दिइन् ।
धनगढी उपमहानगरले शिक्षामा विशेष लगानी गरेर सामुदायिक विद्यालयको गुणस्तरमाथि उठाउन पहल गरिरहेको पनि उपप्रमुख रानाले बताइन् । ‘विद्यालयको पूर्वाधारमा सुधार ल्याएका छौं, अभिभावकसँग नियमित बैठक भइरहेको छ र शिक्षकलाई तालिम दिइरहेका छौं,’ उनले भनिन्, ‘आमा बचाउ कार्यक्रमअन्तर्गत हरेक आमालाई अस्पताल ल्याउने, लैजाने काम गरिएको छ । सर्प दंश, आगलागी बाढी जस्ता विपत्मा उद्धारका लागि तत्काल नगर प्रहरी पुग्ने व्यवस्था गरेका छौं ।’
कार्यपालिका सदस्य अनिल भोजनियाले स्वतन्त्र निर्वाचित नगर प्रमुख हमालसहित विभिन्न दलबाट आएका जनप्रतिनिधिले राम्रो समन्वयका साथ काम गरिरहेको बताए । उद्यमशीलताको विकास गर्न उत्पादनतिर जोड दिने योजना बनाउनुपर्ने उनको धारणा थियो । धनगढी–३ का वडाध्यक्ष राजबहादुर ऐरले भएको स्रोतसाधनबाट अधिकतम काम गर्न खोजे पनि बजेट अभावकै कारण जनअपेक्षाअनुसार नतिजा दिन नसकेको बताए । कान्तिपुरबाट




प्रतिकृया दिनुहोस्