उपनिर्वाचनको तयारी अन्तिम चरणमा, भोलिदेखि कर्मचारी खटाइने

धनगढी । मंसिर १६ गते हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका पाँच पदका लागि हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको हो ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार मतपत्रसहितका निर्वाचन सामाग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगाइएको छ । ‘निर्वाचन अधिकृतले १३ गतेदेखि मतदानस्थलमा कर्मचारी खटाउनुहुन्छ,’ उनले भने, ‘सोही राति १२ बजेदेखि मौन अवधि पनि सुरु हुन्छ ।’
सुदूरपश्चिम प्रदेशमा गाउँपालिका उपाध्यक्षसहित वडाअध्यक्षका लागि निर्वाचन हुन लागेको छ। रिक्त पदमा उपनिर्वाचन लड्न चार महिला, तीन जना स्वतन्त्र उम्मेदवार सहित विभिन्न राजनीति दलहरुबाट गरी २६ जना चुनावी मैदानमा छन्।
बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । त्यहाँ सात हजार चार सय ६० मतदाता छन् भने पाँच मतदान केन्द्र तोकिएको छ ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि तीन जना चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट पुल्तीसरा शाही, एकीकृत समाजवादीबाट जवा शाही, एमालेबाट सुलोचनाकुमारी भण्डारी चुनावी प्रतिस्पर्धामा छन् ।
गत वर्षको माघ पहिलो सातास्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको थियो । उनी २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
यस्तै दार्चुलाको दुहुँ गाउँपालिका–५ मा एक हजार दुई सय ७२ मतदाता छन् भने दुई वटा मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले बताए ।
दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाअध्यक्ष पदको लागि एमालेबाट मानसिंह बडाल, कांग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट वीरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर गरी चार जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यहाँ माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा मृत्यु भएको थियो ।
डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा एक हजार पाँच सय ९३ मतदाता छन् भने तीन मतदान केन्द्र रहेका छन् । डोटीको पुर्वीचौकी गाउँपालिका–६ को वडाअध्यक्ष पदको लागि एमालेबाट देवबहादुर थापा, कांग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकी कुमारी खड्का मैदानमा छन् । काँग्रेसबाट निर्वाचित वडाध्यक्ष पुष्पराज जोशीको मंसिर २०७९ मा मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन भइरहेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा पाँच हजार चार सय ३४ मतदाता छन् भने छ मतदान केन्द्र छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाअध्यक्ष पदका लागि भने १२ जना मैदानमा छन् ।
कांग्रेसबाट प्रकाश चन्द, एमालेबाट बहादुर चन्द, माओवादीबाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, राप्रपाबाट सुशिलकुमार भट्ट, जनमत पार्टीबाट यादवबहादुर चन्द, एकीकृत समाजवादीबाट जितेन्द्रबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट हरिष डगौरा, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा, राप्रपा नेपालबाट दिलबहादुर धामी, स्वतन्त्रबाट युवराज चन्द र स्वतन्त्रबाट थानेश्वर लेखक चुनावी मैदानमा उत्रिएका छन् । त्यहाँ काँग्रेसबाट निर्वाचित महेन्द्र खड्काको पुस २०८० मा मृत्यु भएको थियो ।
बझाङको सुर्मा गाउँपालिका–४ मा एक हजार पाँच सय ५४ मतदाता छन् भने दुई मतादन केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
बझाङको सुर्मा गाउँपालिका–४ को वडाअध्यक्ष पदको लागि एमालेबाट लखीचन्द्र बोहरा, कांग्रेसबाट धिरेन्द्र पुजारा र माओवादी केन्द्रबाट पुस्करबहादुर बोहराको उम्मेदवारी छ । एमालेबाट निर्वाचित वडाध्यक्ष सर्जन बोहराको २०८० जेठमा मृत्यु भएपछि उपनिर्वाचन भइरहेको हो ।
जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा पनि उपनिर्वाचन तोकिएको थियो । यहाँ नेपाली काँग्रेसकी टीकाकुमारी चौधरी भूल सर्वसम्मत निर्वाचित भइसकेकी छिन् ।





प्रतिकृया दिनुहोस्