‘निजामती सेवामा मनोबल बढाउने काम गर्छु’

काठमाडौँ । सरकारले गृहसचिव एकनारायण अर्याल आफूभन्दा वरिष्ठ तीन जनालाई पछि पार्दै निजामती सेवाको उच्च पद मुख्यसचिव बनेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तीन जना वरिष्ठ सचिवलाई पन्छाउँदै अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।
निजामती प्रशासन सेवाको ७ दशकको इतिहासमा अर्याल अठ्ठाइसौं मुख्यसचिव भएका छन् । मुख्यसचिव लिलादेवी गड्तौला शुक्रबार उमेर हदका कारण अनिवार्य अवकास हुँदैछिन् ।
अर्याल हालका सचिवहरू मध्ये वरीयतामा क्रममा चौथो नम्बरमा रहेका थिए । सचिवहरूमा सबैभन्दा वरिष्ठ योजना आयोगका तोयनारायण ज्ञवाली, दोस्रोमा सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी र तेस्रोमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई थिए । उनीहरूलाई उछिन्दै अर्याल मुख्य सचिव बनेका हुन् । २०२४ मंसिर १० मा जन्मिएका अर्यालले करिब १५ महिना मुख्यसचिवको पद सम्हाल्नेछन् । उनले २०८२ मंसिरमा उमेर हदका कारण अवकाश लिनुपर्ने छ ।
स्याङ्जा पुतली बजार नगरपालिका– १० स्थायी घर भएका उनी २०४६ साल माघमा नायव सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका थिए ।
खुल्ला प्रतिस्पर्धाबाट २०५१ साउनमा अधिकृत बनेका अर्याल आन्तरिक प्रतिस्पर्धाबाट २०५८ मा उपसचिव ०६७ मा सहसचिव भएका उनी ०७६ फागुनमा सचिवमा बढुवा भएका थिए । जनप्रशासन, राजनीतिक शास्त्र र कानुनमा स्नातकोत्तर गरेका छन् ।
उनले निजामती सेवाको ३४ महिना ७ महिनाको कार्यकालमा गृह प्रशासनको अनुभव सबैभन्दा धेरै लिएका छन् । सहसचिव हुँदादेखि नै गृह मन्त्रालय र मातहतमा रहेर काम गर्ने मौका पाएका अर्यालले काठमाडौंलगायत विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, कलकत्ताको महावाणिज्य दूत, काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहँदा उत्कृष्ट कार्यसम्पादन गरेका रेकर्ड रहेको छ ।
उनले संघीय मामिला तथा सामान्य प्रशासन, श्रम रोजगार तथा सामाजिक सुरक्षा, प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको सचिव भएर कार्यसम्पादन गरेका थिए । उनलाई पछिल्लो समय गत चैतमा एमाले–माओवादी गठबन्धन सरकार बनेपछि गृह सचिवमा सरुवा गरिएको थियो ।
भूकम्पकाबेला काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहँदा विपद्को उत्कृष्ट व्यवस्थापन गरेको भन्दै उनले त्यतिबेला प्रशंसा बटुलेका थिए । तनहुँको प्रजिअ भएका बेला उनलाई राम्रो काम गरेको भन्दै नागरिकले अभिनन्दन गरेका थिए ।
काठमाडौं महानगरको राजस्व संकलका लागि अनलाइन प्रणालीको कार्यान्वयन गराएका थिए भने संघीय मन्त्रालयका रहेका बेला स्थानीय तहको स्वमूल्यांकन प्रणालीको विकास गराएर कार्यान्वयनको आधार तयार गरेका थिए । श्रम सचिव भएका बेला उनले अनलाइन प्रणालीबाट श्रम स्वीकृत पाउने व्यवस्था मिलाउन भूमिका निर्वाह गरेका थिए ।
मुख्यसचिव भएपछि अर्यालसँग गरिएको संक्षिप्त कुराकानी :
निजामती सेवाको सबैभन्दा ठूलो पदमा पुग्दा अब कसरी अघि बढ्ने सोच बनाउनुभएको छ ?
पहिलो कुरा त म व्यक्तिगत स्वार्थ नराखी काम गर्छु । निजामती सेवामा देखिएको नैराश्यता हटाएर मनोबल बढाएर काम गर्ने वातावरण बनाउने प्रयास गर्छु । निजामती सेवालाई प्रविधिमैत्री बनाएर नागरिकलाई सहज तरिकाले सेवा प्रवाह गराउने प्रयासमा लाग्नेछु ।
निजामती प्रशासनमा समस्यै समस्या छ । तपाईंले सहज रुपमा कसरी काम गर्न सक्नुहुन्छ ?
समस्या समाधानका लागि पहिलो सुरूवात संसदमा पेस भएको संघीय निजामती विधेयकलाई अघि बढाएर ऐनको रुप दिनु जरुरी छ । कर्मचारीको कार्यक्षमता कसरी बढाउन सकिन्छ त्यो अर्को महत्त्वपूर्ण विषय हो । ढिलासुस्ती सबैभन्दा धेरै उठ्ने गरेको विषय हो त्यसको समाधानका लागि मेरो प्रयास हुनेछ ।
सुशासन र ढिलासुस्तीको कुरा गर्नुभयो । एउटा मन्त्रालयको फाइल अर्को मन्त्रालयमा पुग्न र फर्कन महिनौं लागेका उदाहरण छन् । यो कसरी समाधान हुन्छ ?
कर्मचारीको क्षमताको आधारमा जिम्मेवारी दिनुपर्छ । हामीले व्यक्तिगत स्वार्थ राखेनौं भने धेरै समस्या छिट्टै समाधान हुन्छन् । सिष्टमले काम गर्ने बनाउन सक्यौं भने त्यसबाट सुशासनमा सहयोग गर्न सक्छ । मुख्य कुरा रिजल्ट दिनेगरी काम हुनुपर्छ भन्ने हो ।
मुख्यसचिवको भूमिकामा बेलाबेलामा प्रश्न उठ्ने गरेको छ । खासमा गलत निर्णयहरू हुन थाल्यो भने मुख्यसचिवले रोक्ने प्रयास गर्दैनन् भन्ने आरोप लाग्ने गरेको छ नि ?
निजामती सेवाको उच्च पदमा पुगेको व्यक्तिले स्वार्थ नराख्ने हो भने धेरै निर्णय सही हुन्छन् । राजनीतिक नेतृत्व र कर्मचारीको उद्देश्यमूलक र नागरिकको समृद्धि नै हो । सरकारले ल्याएको नीति कार्यान्वयन गर्नु कर्मचारीको कर्तव्य हो ।
मैले अहिलेको गठबन्धन सरकारले ल्याएको नीति कार्यान्वयन गराउन सक्दो भूमिका निर्वाह गर्नुपर्छ । राजनीतिसँग फरक मत राख्नुपर्ने कारण छैन । हामी सबैको एउटै उद्देश्य मुलुकको हित भएकाले साझा मुद्दामा सहमति र असहमतिको कुरा के हुन्छ र ? कर्मचारी प्रशासन र राजनीतिबीच खाडल राख्न आवश्यक छैन । कान्तिपुरबाट





प्रतिकृया दिनुहोस्