डोटीको दिपायलमा बस दुर्घटना हुँदा १७ जना घाइते (घाइतेको विवरण सहित)

दिपायल । डोटीको दिपायलमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) भीमलाल भट्टराईका अनुसार बस शुक्रबार बिहान ४:२० बजे रेडियो नेपालको मोडमा रहेको स्थानीयको घर माथि खसेको थियो । घरमा पनि क्षति पुगेको छ ।
सूचना अधिकारी डिएसपी भट्टराईले दिएको जानकारी अनुसार बस सडकबाट करिब ३५ मिटर तल खसेको छ । धनगढीबाट बुधबार डोटीको केआइसिंह गाउँपालिका वायलका लागि छुटेको रात्रि बस दुर्घटना भएको हो ।
बसमा सवार १६ जना घाइते भएका छन् । भने एक जना घरमा सुतिरहेकी महिला हुन् । तीमध्ये ७ जना सामान्य र ९ जनाको अवस्था मध्यम छ। वस्ती भएको ठाउँमा खसको उक्त बसले दुइवटा घरहरूमा पनि क्षति पुर्याएको छ भने दुई जना स्थानीय पनि घाइते भएको डिएसपी भट्टराइले जानकारी दिए।
दुर्घटनामा सायल गाउँपालिका– ४ का २४ वर्षीय ईन्द्र बोगटी, सोही ठाउँका ८२ वर्षीय तेज बहादुर सिंह, ६८ वर्षीय हर्क बहादुर सिंह र ५६ वर्षीय लालवीरे भुल घाइते भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, साय गाउँपालिका– ३ का ४० वर्षी दल बहादुर बयाडी, पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहका २१ वर्षीय हिक्मत बिक, बोगटान फुड्सिल गाउँपालिका– ६ पलाडीका ३५ वर्षीय देव बोगटी घाइते भएका छन् ।
दिपायल सिलगढी नगरपालिका–१ तिखाकी ४० वर्षीया डम्बरी खड्का, दिपायल सिलगढी नगरपालिका–४ राजपुरका ३८ वर्षीय डिल बहादुर नेपाली, , दिपायल सिलगढी नगरपालिका–६ का २९ वर्षीय भेषराज धामी पनि घाइते भएका छन् ।
आदर्श गाउँपालिका– ४ भुवाका ३० वर्षीय कृष्ण विष्ट, सोही ठाउँका ३८ वर्षीय सन्तोस बोहरा र आशर्द गाउँपालिकाकै वडा नं. १ का २३ वर्षीय प्रकाश खड्का, डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका– २ की २१ वर्षीया सविता देउवा घाइते भएको प्रहरीले जनाएको छ ।
बस चालक शिखर नगरपालिका– १० का २८ वर्षीय भरत रावल र बसका साहु केआईसिंह गाउँपालिका– २ का ४६ वर्षीय कमल विक्रम शाही घाइते भएको प्रहरीले जनाएको छ ।
त्यस्तै घरमाथिबाट बस खस्दा घरमा सुतिरहेकी स्थानीय ५० वर्षीया सरु नेगी पनि घाइते भएकी छिन् । उनको अवस्था सामन्य रहेको अस्पतालले जनाएको छ ।
गडीको प्रेसर पाइप फुटेका कारण उकालोमा ब्रेकले काम नगर्दा दुर्घटना भएको चालक रावलले बयान दिएका छन् । घाइतेहरुको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थाका विरामीहरुलाई थप उपचारका लागि अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ ।





प्रतिकृया दिनुहोस्