April 18, 2026, Saturday
२०८३ बैशाख ५

बजारमा बिक्री भएका खाद्य वस्तुको नमुना संकलन गरि परीक्षण गर्दा ४ प्रतिशत अखाद्य वस्तु पाइयो

काठमाडौँ । बजारमा बिक्री वितरण भएका करिब चार प्रतिशत खाद्यवस्तु अखाद्य पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट नमूना संकलन गरेर ल्याएका खाद्यवस्तुको नमुना परीक्षण गर्दा ४.१० प्रतिशत नमुनाहरूको परीक्षण प्रतिवेदन प्रतिकूल पाइएको हो।

विभागले आर्थिक वर्ष २०८०/८१ मा बजार अनुगमन तथा निरीक्षण गरी तीन हजार एक सय  २५ नमुना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्दा एक सय नौ वटा गुणस्तरहीन भेटिएको हो।

खाद्य प्रविधिले बजार अनुगमनमा तेल, प्रशोधित पिउने पानी, बेसन, प्रशोधित दुध, आइसक्रिम, घिउ, चामल, दाल, प्रशोधित सूर्यमुखी तेल, तोरी तेल, पाउरोटी, पप, बन, बिस्कुट, चकलेट, नमकिन, क्यान्डी, काजु लगायतका वस्तुको नमूना संकलन गरेर परीक्षण गरेको छ।

 बजार अनुगमन गरी संकलन गरेका खाद्य वस्तुको नमूना परीक्षण गर्दा गुणस्तरहीन खाद्य वस्तु बिक्री गर्नेलाई कानुनी दायरामा ल्याउने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्यले बताइन्।

‘बजारमा बिक्री भएका खाद्यवस्तुको नमुना संकलन गरेर परीक्षण गर्दा प्रतिकूल पाइयो,’ महानिर्देशक वैद्यले भनिन्, ‘अखाद्य वस्तु उत्पादन तथा बिक्री गर्नेलाई कानुनबमोजिम कारबाही गरेका छौं।’

विभागले खाद्यान्न तथा दलहनका आठ सय ८७ वटा, फल तथा सागपातजन्य पदार्थका तीन सय ५९ वटा, तेल तथा घ्युजन्य पदार्थका तीन सय २६ वटा, मसलाका दुई सय ९४ वटा, गुलियो पदार्थ तथा कन्फेक्सनरीका एक सय ६४ वटा, चिया तथा कफीका एक सय ५५ वटा नमुना परीक्षण गरेको थियो।

त्यसैगरी, प्रशोधित पिउने पानीका एक सय १४ वटा, दुध तथा दुग्ध पदार्थका ७९ वटा, नुनका ४० वटा, मासु तथा मासुजन्य पदार्थ तीन वटा, अन्य खाद्य पदार्थका एक सय २९ वटा नमुना संकलन गरी विश्लेषण गरेको थियो।

विभागका अनुसार खाद्यान्न तथा दलहनका ३२ वटा, फल तथा सागपातजन्य पदार्थका १२ वटा, तेल तथा घ्युजन्य पदार्थ १५ वटा, मसलाका पाँच वटा, गुलियो पदार्थ तथा कन्फेक्सनरीका नौ वटा, चिया कफीका नौ वटा, प्रशोधित पिउने पानीका १० वटा, दुध तथा दुग्ध पदार्थका सात वटा र अन्य खाद्य पदार्थका १० वटा नमुनाको परीक्षण प्रतिवेदन प्रतिकूल पाइएको विभागले जनाएको छ।

आम उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न खाद्य ऐन, २०२३ तथा खाद्य नियमावली, २०२७ को प्रभावकारी कार्यान्वयन गर्दै खाद्य प्रविधिको विकास तथा खाद्यमा आधारित पोषणको सुधारका लागि विभिन्न प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आए पनि बजारमा गुणस्तरहीन खाद्य पदार्थको बिक्री हुँदै आएको छ। विश्लेषण परीक्षणका लागि विश्वसनीय प्रयोगशाला सेवा प्रदान गर्ने र स्वच्छ व्यापार तथा व्यवसायमा सहजीकरण गर्ने कार्य खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्दै आएको छ।

विभागले मातहतका ४३ कार्यालयबाट अनुगमन गरी बजारमा अखाद्य वस्तुको नियन्त्रण गर्ने प्रयास गर्दै आएको छ। खाद्य तथा दाना पदार्थ ऐन बमोजिम संकलित नमूनाको विश्लेषण प्रतिवेदन अनुसार प्रतिकूल पाइएका खाद्य तथा दाना पदार्थको उत्पादन तथा बिक्रीवितरण गर्ने व्यवसायीहरूलाई एक सय ७८ वटा मुद्दा विभिन्न जिल्लामा दायर गरेको छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालतमा मुद्दा दायर गर्दैै आएको छ।

दायर गरिएका एक सय ७८ मुद्दामध्ये प्रशोधित पिउने पानीका ४५, खाद्यान्न तथा दलहनका २९, गुलियो पदार्थ तथा कन्फेक्सनरीका २२, तेल तथा घ्युजन्य पदार्थ १८, दुध तथा दुग्ध पदार्थका १६, मसलाका नौ वटा, फल तथा सागपातजन्य पदार्थ तीन, चिया तथा कफीका तीनवटा मुद्दा रहेका छन् । त्यसैगरी, खाद्य पदार्थका २१ र दानाजन्य पदार्थका १२ वटा  रहेका छन्।

विभागले एक वर्षमा उद्योग अनुज्ञापत्र नौ सय ३३ वटा जारी गरेको छ। त्यसैगरी दुई हजार चार सय ३० उद्योग नवीकरण भएका छन्। विभागले बजार, उद्योग, होटल रेष्टुरेन्ट, मिठाइ पसल, फलफूल बजार, हाटबजार अनुगमन गर्दै आएको छ।

विभागले म्याद गुज्रिएका, लेबल नभएका एक करोड एक लाख ६४ हजार रूपैयाँ बराबरको मसला, खाद्यान्न, वियर, दालमोठ, चिप्स, मिट मसाला, चिजवल, मैदा, सुजी, जुस, अचार, हल्का पेय पदार्थ, खाद्य तेललगायत विभिन्न किसिमका खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट  गरेको छ।

स्वदेशमा उत्पादन भएका मात्र नभएर विदेशबाट आयात हुने खाद्य वस्तु गुणस्तरहीन भेटिएमा कारबाही गर्ने गरेको छ। विभाग अन्तर्गत १२ वटा विभिन्न भन्सार विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूबाट खाद्य तथा पेय पदार्थका ४६ हजार नौ सय ४८ नमुनाहरूको जाँच विश्लेषण गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए।

‘४५ वटा नमूनाहरू प्रतिकूल पाइएपछि कारबाही गरिएको थियो,’ प्रवक्ता शर्माले भने, ‘बजारमा अखाद्य वस्तुको बिक्री वितरण नहोस् भनेर भन्सार विन्दुमै चेकजाँच गर्ने गरेका छौं।’ त्यसैगरी नेपालमा आयात हुने ताजा तरकारी तथा फलफूलका नमूना परीक्षण गर्दा ३७ वटा नमूना प्रतिकूल पाइएको विभागले जनाएको छ।

बालबालिकालाई लक्षित गरी खुला रूपमा विभिन्न रङको प्रयोग गरी बिक्रीवितरण हुने कटन क्याण्डीमा अखाद्य रङ प्रयोग भएको पाइएकाले विभागले कारबाही गरेको छ। गुणस्तरहीन खाद्यवस्तुको प्रयोगले झाडापखाला, टाइफाइड, कमलपित्त, झाडा पखाला, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्ने चिकित्सक बताउँछन्।

उपभोक्ताले कुनै पनि वस्तु प्रयोग गर्दा खाद्य वस्तुको नाम, उत्पादकको ठेगाना, ब्याच नम्बर, उत्पादन मिति, उपभोग्य मिति, सम्मिश्रण गरिएका खाद्य वस्तुहरूको नाम र लेबलको बारेमा जानकारी लिनुपर्ने विभागका अधिकारी बताउँछन्। नागरिकबाट