May 13, 2025, Tuesday
३० बैशाख २०८२, मंगलवार

बैतडीमा पासोमा पर्‍यो चितुवा, उद्धार गरिँदै

बैतडी । बैतडीमा पासोमा चितुवा परेको छ । मङ्गलबार बिहान सिगास गाउँपालिका-९ च्वाँभेरीखोलामा मानिसले थापेको पासोमा चितुवाको गोडा फसेको हो ।

डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलीप कुमार यादवका अनुसार मानिसले थापेको पासोमा चितुवाको गोडा फसेको छ । चितुवाको उद्धार गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाको उद्धार टोली मगाइएको उनले बताए ।

चितुवाको उद्धार गर्न डिभिजन वनको टोली, पशु चिकित्सक र प्रहरी घटनास्थल पुगिसकेको छ । शुक्लाफाँटाबाट राष्ट्रिय प्रकृति संरक्षण कोषको उद्धार टोली आएपछि पासोमा फसेको चितुवाको उद्धार र उपचार गरिने डिभिजन वन प्रमुख यादवले बताका छन् ।

बैतडीमा मानव–वन्यजन्तुबिचको द्वन्द्व बढ्दै गएको छ । चितुवाले बैतडीको तल्लोस्वराड क्षेत्रमा २०६८ यता २८ जना मानिसको शिकार गरिसकेको छ भने जिल्लाका विभिन्न स्थानमा मानिसले थापेको पासोमा परि हालसम्म १२ वटा चितुवा मरिसकेको डिभिजन वन प्रमुख यादवले बताए ।

बैतडीमा मानव र वन्यजन्तुबिचको द्वन्द्व अध्ययन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली ५० वटा स्वचालित क्यामेरा लिएर बैतडी आउने लागेको बताइएको छ ।