April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

डोटीमै पहिलो पटक कपडा बैंक स्थापना

डोटी । डोटीमा पहिलो कपडा बैंक स्थापना भएको छ । डोटीको शिखर नगरपालिकामा जिल्लाकै पहिलो कपडा बैंक स्थापना भएको हो ।

शिखर नगरपालिकाका नगर प्रमुख दीर्घबहादुर बलायरले वडा नं २ कालागाडमा स्थापना भएको उक्त कपडा बैंकको शनिबार उद्घाटन गरेका हुन् । नगर प्रमुख बलायरले कपडा बैंकमा जम्मा भएका कपडा जीउ ढाक्न समस्या भएका व्यक्तिहरुलाई राहत पुग्ने बताए ।

‘कसैलाई पुराना कपडा कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ, कसैलाई लुगा कसरी किन्ने भन्ने समस्या छ, यो बैंकले दुबै समस्याको समाधान गर्नेछ’, नगर प्रमुख बलायरले भने, ‘लुगासँगै जुत्ता, चप्पल, खाद्यान्न पनि सहयोग गर्न सकिन्छ ।’

एक महिनाको अवधिमा १२ जनाले बैंकमा कपडा जम्मा गरेको र बैंकबाट ३२ जनाले कपडा लगेको उपप्रमुख सुनिता रावलले जानकारी दिइन् । बैंकलाई नयाँ लुगा पनि दिन सकिने उनले बताइन् ।