हिमाली तथा उच्च पहाडी भेगमा हिमपात : विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

डोटी । सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भएको छ। वर्षासँगै सुदूरपश्चिमका हिमाली तथा उच्च पहाडी भेगका अधिकांश ठाउँमा गएरातिदेखि हिमपात भएको हो।
वर्षासँगै हिमाली तथा उच्च पहाडी भेगका अधिकांश ठाउँमा हिउँ जम्न थालेको छ भने हिमपातपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।
बझाङको सुर्मा, छविसपाथीभेरा, मष्टा, थलारा, खप्तडछान्ना, दुर्गाथली, केदारस्युँ, तल्कोट गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका विभिन्न ठाउँमा हिउँ जम्न थालेको छ । हिमपातसँगै जाडो बढेपछि जिल्लाभरका अधिकांश विद्यालय समेत बन्द गरिएको छ । बिहीबार पनि हिउँदे वर्षा निरन्तर भइरहेकोले अझै हिउँ थपिन सक्ने सम्भावना छ ।
हिमपातको कारण बैतडीको श्रीभावरदेखि बझाङको वित्थडबीचमा पर्ने खण्डमा राष्ट्रिय प्रसारण लाइनमा खराबी आउँदा बुधबारदेखि नै विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका सुपरभाइजर रुपक थापाले बताए । विद्युत मर्मतका लागि प्राविधिकको टोली त्यस तर्फ पठाइसकिएको भए पनि मर्मत हुन कति समय लाग्छ भनेर भन्न नसकिने उनको भनाइ छ ।
खप्तड पर्यटन विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तड क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको बताएका छन्। उनले खप्तडको बगलेख र झिग्रानासम्म समेत हिउँ परेको बताए। अहिले पनि खप्तड क्षेत्रमा हिमपात जारी रहेको छ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरू बाजुरा, बझाङ, डोटी, बैतडी, अछाम, डडेल्धुरा र दार्चुला लगाएतका हिमाली भू–भागमा हिमपात बुधवारै देखी सुरु भएको छ। हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा गएरातिदेखि हिमपात भइरहेको छ । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका र आसपासका जिल्लामा पनि हल्का वर्षा भएको छ ।
चार महिनापछि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हिमाली क्षेत्रमा हिमपात भएको छ भने तराई क्षेत्रमा वर्षा भएको छ । यसअघि २०८० असोज २९ गते ३० दशमलव १ मिलिटर वर्षा भएकोमा त्यसयता वर्षा भएको थिएन । यो हिउँदको पहिलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा वर्षासँगै हिमपात महाशाखाले जनाएको छ ।
कहाँ कस्तो वर्षा ?
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार पश्चिम नेपालमा प्रक्षेपण गरेअनुसारकै हिमपात र वर्षा भएको छ । महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसमी बुलेटिनमा पश्चिम नेपालका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने उल्लेख थियो ।
महाशाखाका मौसमविद गोविन्द झाका अनुसार सबैभन्दा धेरै डडेलधुरामा ३२.८ मिलिमिटर वर्षा भएको छ । यसैगरी कालिकोटतिर ३२ मिलिमिटर, दैलेखतिर १५ देखि २० मिलिमिटरसम्म वर्षा भएको महाशाखाको रेकर्ड छ ।
‘१० मिलिमिटर भन्दा बढी र ५० मिलिमिटरभन्दा कम वर्षालाई मध्यम वर्षा भनिन्छ, यस अनुसार पश्चिम नेपालका अधिकांश पहाडी भूभागमा मध्यम वर्षा भएको छ,’ मौसमविद झाले भने ।
पहाडी क्षेत्रको तुलनामा पश्चिमकै तराई क्षेत्रमा भने कम पानी परेको छ । उदाहरणका लागि बाँकेको नेपालगञ्ज १ मिलिमिटर मात्र वर्षा भएको छ ।
काठमाडौंको अवस्था कस्तो ?
आज अपराह्नदेखि काठमाडौं उपत्यकामा पनि पानी परेको छ । यसअघि मौसमविदले काठमाडौंमा पानी पर्ने सम्भावना कम रहेको जनाएका थिए । परिहालेछ भने पनि फाट्टफुट्ट मात्र पर्ने उनीहरुको भनाइ थियो ।
मौसमविद झाका अनुसार काठमाडौंमा अपराह्नदेखि फाट्टफुट्ट मात्र वर्षा भएको छ । उपत्यकाभित्रका जिल्लाहरुमा एकनासको वर्षा भने छैन ।
काठमाडौंमा परेको पानी केही घण्टामै रोकिने उनले बताए । ‘पश्चिमबाट पूर्वतिर बादल सर्ने क्रममा छ । त्यही भएर काठमाडौंमा पनि फाट्टफुट्ट पानी पर्यो,’ मौसमविद झाले भने, ‘अहिलेको अवस्थामा भोलिदेखि नै सुधार देखिन्छ ।’
काठमाडौंमा भोलि बिहान पानी नपर्ने तर बादल भने लाग्ने पूर्वानुमान उनले गरे ।
उनले यो वर्षासँगै काठमाडौं आसपासका अग्ला डाँडाहरुमा हिउँ पर्ने सम्भावना रहेको पनि बताए । तर त्यसको प्रकृति कस्तो हुन्छ अहिले नै भन्न नसक्ने उनले बताए । बादल कति जम्मा हुन्छ त्यसको आधारमा मात्र हिमपातको प्रकृतिबारे एकिनका साथ भन्न सकिने मौसमविदहरु बताउँछन् ।
आइतबारदेखि फेरि पार्न पर्ने
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज रातिदेखि नै काठमाडौंमा पानी पर्न रोकिने छ । भोलि काठमाडौंमा बादल लाग्ने सम्भावना छ । तर शनिबार भने घाम लाग्ने गरी बादल हट्ने उनले बताए ।
आइतबार भने फेरि पश्चिमी वायुको प्रभावले हिमपात र वर्षा हुने प्रक्षेपण उनले गरे । ‘फेरि अर्को प्रणाली नेपाल आउँदैछ । त्यसको प्रभावले आइतबार र सोमबार आज जस्तो भयो, त्यस्तै खालको हुनेछ,’ डा. पोखरेलले भने ।
तर अहिलेका मौसमी प्रणालीहरु कमजोर खालका भएकाले त्यसले ठूलो असर भने नपुर्याउने पूर्वानुमान छ ।
यद्यपि पानी पर्दा चिसो बढ्ने भएकाले जनजीवन प्रभावित हुने छ । चिसोले बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र दीर्घरोगीहरुलाई बढी असर गर्ने भएकाले चिसोबाट जोगिन ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।
तर यो वर्षाले प्रदूषण कम हुने, हुस्सु तथा कुहिरो छिट्टै हट्न सहयोग मिल्ने र क्रमशः तापक्रम पनि वृद्धि हुँदै जाने मौसमविदहरु बताउँछन् ।
हिउँदे वर्षा बालिनालीलाई किन आवश्यक ?
जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी हिउँदे वर्षा हुने प्रक्षेपण गत मंसिरमा सार्वजनिक गरेको थियो । तर प्रक्षेपण गरेअनुसार हिउँदे वर्षा भएको छैन ।
विभागले यस वर्षको हिउँदमा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी हिउँदे वर्षा हुने प्रक्षेपण गत मंसिरमा सार्वजनिक गरेको थियो । तर हिउँदयामको एक महिना बितिसक्दा पनि प्रक्षेपण अनुसार हिउँदे वर्षा भएको छैन ।
नेपालमा मंसिर १५ गतेदेखि फागुन १७ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । यो अवधिमा ६०.१ मिलिमिटरसम्मको वर्षालाई सरदर मानिएको छ ।
तर पर्याप्त पानी नपरेका स्थानमा किसानहरुलाई मर्का परेको छ । यही हिउँदको बेला तराई क्षेत्रमा गहुँ खेती गरिएको हुन्छ । सामान्यता मंसिरमा गहुँ छर्ने किसानहरुलाई त्यसको करिब एक महिनापछि सिंचाइको आवश्यकता हुन्छ । किनभने गहुँले जरा फैलाउने र गाँज फस्टाउने बेला यही हो ।
‘गहुँ छरेको करिब २३ देखि एक महिनाको बीचमा गहुँलाई सप्रिन सिंचाइ चाहिन्छ । कुलोपानी नलाग्ने ठाउँमा आकासे वर्षा पनि भइदिएन भने बाली सप्रिँदैन,’ पूर्व वरिष्ठ कृषि प्रसार अधिकृत अम्मरराज शर्मा भन्छन्, ‘त्योभन्दा ढिला पानी पर्यो भने पनि अन्न र तरकारी खेती फस्टाउँदैन ।’
उनले भने, ‘हिउँदे बाली र तरकारी सप्रिन कम्तिमा पाँच सेन्टिमिटर भिज्ने गरी पानी पर्नुपर्छ । यदि पानी परेन र जाडो बढ्यो भने आलु, टमाटर लगायत तरकारी बालीमा पनि असर गर्छ ।’ पहाडी क्षेत्रमा परेको पानी र हिउँले त्यहाँका किसानलाई फाइदा भए पनि तराई क्षेत्रका किसानका लागि भने यो पानी अपर्याप्त रहेको उनले बताए ।
प्रतिकृया दिनुहोस्