राष्ट्रिय सभा निर्वाचनको मतदान सुरू, आजै मतपरिणाम आउने

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनको मतदान सुरू भएको छ। सातै प्रदेशका विभिन्न मतादान केन्द्रहरूमा बिहान ९ बजेदेखि मतदान सुरू भएको हो।
मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ।रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान सुरू भएको हो। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरू गरी आजै परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ। राष्ट्रिय सभा निर्वाचनका लागि सात प्रदेशमा आठ वटा राजनीतिक दलका तर्फबाट ५१ जना उम्मेदवार छन्।
सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेको छ । नेकपा (एमाले) बाट १९ पदमा उम्मेदवार छन् भने नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का छ, नेकपा (एकीकृत समाजवादी) का दुई र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । त्यस्तै जनमत पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सात र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का चार जना उम्मेदवार छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमबमोजिम बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलका सबै मतदाताहरू गोप्य मतदानद्वारा आफूले रोजेको र चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरूको व्यवस्था गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुई दुई वटा मतदान केन्द्र स्थापना गरिएको छ । सातै प्रदेशमा हुने निर्वाचनका लागि ६३ जना कर्मचारी खटाइएको पौडेलले जानकारी दिए ।





प्रतिकृया दिनुहोस्