April 18, 2026, Saturday
२०८३ बैशाख ५

कांग्रेस सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्मेलन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्मेलन अनिश्चित भएको छ । पाँच प्रदेशको सम्मेलन सकेको नेपाली कांग्रेसले जिल्ला सम्मेलन गर्न नसक्दा सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्मेलन भने अनिश्चित हो ।

सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर र बझाङले जिल्ला सम्मेलन गर्न नसक्दा प्रदेशको सम्मेलन अनिश्चित भएको हो । कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले प्रदेश सम्मेलनको मिति तय नभएको बताए । ‘जिल्ला सम्मेलन सकेर प्रदेश सम्मेलन गर्न खोजेका हौं । दुई जिल्लाको हुन सकेको छैन’, खड्काले भने, ‘प्रदेश सम्मेलन गर्ने बारेमा धेरै छलफल हुन सकेको छैन ।’

महामन्त्री खड्काले फागुनअघि सम्मेलन गर्ने अवस्था नरहेको बताएका छन् । कांग्रेसले फागनुमा महासमिति बैठक डाकेको हुदाँ फागुनअघि सम्मेलन गर्ने अवस्था नरहेको बताएका हुन।

कर्णाली प्रदेश सम्मेलन पनि फागुनअघि हुने सम्भावना नरहेको प्रदेश सभापति ललितजंग शाहीले बताए । जाडो महिनामा जिल्ला सम्मेलनहरु समेत हुन नसकेको जनाउँदै शाहीले भने, ‘यो समयमा हिमाली जिल्लाको सम्मेलन हुन सक्दैन । महासमिति पछि प्रदेशको सम्मेलन गर्ने सोंचमा छौं ।’

कांग्रेसको विधान अनुसार वडा तहले वर्षमा दुईपटक र त्यस माथिका संरचनाले वर्षमा एकपटक सम्मेलन गर्नुपर्छ । विधानमा व्यवस्था भएपनि यसअघि सम्मेलन गर्ने प्रचलन कांग्रेसमा थिएन । यसपटक महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मातहतका संरचनाको सम्मेलन गर्न दुई पटक परिपत्र गरेका थिए । विधानको व्यवस्था र सम्मेलनको प्रारुपसमेत तयार गरेर परिपत्र गरेका थिए ।

विधानको व्यवस्था र महामन्त्रीहरुको पत्रपछि कांग्रेसमा सम्मेलन भइरहेको छ । संघीयतापछि पहिलोपटक कांग्रेसले पाँच प्रदेशको सम्मेलन गरेको छ । प्रदेश सम्मेलन गर्नेमा पहिलो प्रदेश लुम्बिनी बनेको थियो ।

लुम्बिनी प्रदेशले मंसिर १६ र १७ गते, गण्डकी प्रदेशले पुस ३ र ४ गते, मधेश प्रदेशले ५ र ६ गते, बागमतीको पुस ७ गते, कोशीले पुस ९ गते प्रदेश सम्मेलन गरेको थियो ।