३ घन्टाभित्र बझाङमा ४ रेक्टरमाथिका ६ भूकम्प : ६ महिनाको अबधीमा मात्रै सुदूरपश्चिममा १५ गरी नेपालमा २२ वटा धक्का

काठमाडौं । बझाङमा केन्द्रविन्दु भएर आज मंगलबार पटक पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको हो ।
त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पहिलो थियो । ३ बजेर ६ मिनेटमा पछि ४ रेक्टरमाथिका ३।४ वटा परकम्प गएका छन्, ।‘४ रेक्टरभन्दा कमका त थुप्रै परकम्प गएको भूकम्पविद् चिन्तन तिम्सिनाले भने ।
केन्द्रका अनुसार ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।
सुदूरपश्चिम प्रदेशमा ६ महिनाको अवधिमा १५ वटा भूकम्मको धक्का मापन भएको छ । वैशाखयता साना ठुला गरी चार म्याग्निच्युडमाथिका १५ वटा भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि वैशाख १० गते बाजुरालाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । बाजुरामै केन्द्रबिन्दु बनाएर वैशाख १४ मा ४.९, वैशाख १५ मा ५.९, ४.१ मा, २१ मा ४.१ र वैशाख २८ मा ४.३, जेठ ८ गते ४.१ र जेठ २९ गते बाजुरामै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
यसैगरी सुदूरपश्चिमको बझाङलाई केन्द्रबिन्दु बनाएर जेठ १० गते ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । असार ५ गते दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.० रेक्टर स्केललको भूकम्प गएको केन्द्रको तथ्याङ्कले देखाएको छ ।
सुदूरपश्चिमबाहेक वैशाख १८ मा हुम्लालाई केन्द्रबिन्दु बनाएर ४.०, जेठ ७ गते रुकुम पूर्वमा ४.१, असार ८ गते लमजुङमा ४.०, असार २८ मा हुम्लामा ४.६ , साउन ३ गते कास्कीलाई केन्द्रबिन्दु बनाएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो ।
यसैगरी भदौ १५ गते पूर्वी नेपालको भोजपुरलाई केन्द्रबिन्दु बनाएर ४.० र पाँचथरलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ ।
यसरी हेर्दा पछिल्लो ६ महिनामा नेपालमा २२ वटा भूकम्पको धक्का गएको देखिन्छ ।





प्रतिकृया दिनुहोस्