March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

सुनको मूल्य ८ दिनमा तोलामा ५ हजार ६ सयले घट्यो

काठमाडौं । सुनको मूल्य ८ दिनमा प्रतितोला ५ हजार ६ सयले घटेको छ । सुनको मूल्य मंगलबार मात्रै प्रतितोला एक हजार ३ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ३० रुपैयाँ घटेर कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार असोज ८ गते यताको ८ दिनमा सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले घटेको छ ।

असोज ८ गते एक लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता हरेक दिनजसो घटेर एक लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको छ ।

यस्तै, चाँदीको मूल्य पनि ८ दिनमा तोलामा १२० रुपैयाँले घटेको छ । ८ असोजमा १४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १६ अजोजमा आइपुग्दा १३ सय १० रुपैयाँ कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन चाँदीको मूल्य घट्नुको कारण अन्तर्राष्ट्रिय बजार मूल्य नै हो । डलरको मूल्य मजबुत बन्दा सुन बिक्री गरेर लगानी डलरतिर सरेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् ।

डलर मजबुत भएसँगै यूरोपका ठूला देशहरुले बैंकमा ब्लकमा राखेका सुनहरु बेचेर डलरमा लगानी गर्न थालेको उनको भनाइ छ ।

पछिल्लो ११ दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १०३ डलरले घटेको छ । ५ असोज २०८० (८ अक्टोबर) मा १९२४ प्रतिऔंसमा कारोबार भएको सुनको मूल्य १६ असोज (३ अक्टोबार) मा आइपुग्दा १८२१ डलरमा झरेको छ । सुनको मूल्य अझै घट्न सक्ने अनुमान गरिएको छ ।