April 18, 2026, Saturday
२०८३ बैशाख ६

प्रतिनिधिसभा विघटन नगरी नहुने थियो : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन नगरी नहुने भएकाले गरिएको बताएका छन् । नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ छ ।

मंगलबार नेकपा एमाले वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेको बताए ।

उनले आफ्नो प्रधानमन्त्रीकालमा प्रतिनिधिसभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने पनि जिकिर गरेका छन् । त्यसबेला आफूहरुलाई ‘झुण्ड्याएर मार्ने डोरी’ बनाइएको भन्दै आफूले संसद्‍ विघटन गरिदिएर सो ‘डोरी छिनाल्दिएको’ दाबी गरे ।

साथै उनले प्रतिनिधिसभा विघटन त्यसबेलाको अपरिहार्यता भएको भन्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरेका छन् ।

नेता ओलीले भनेका छन्, ‘हामीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गर्‍यौं । विघटन गर्‍यौं । हामीले ठिक ठानेर गर्‍यौं । ठिक भनेर गर्‍यौं । ठिक थियो र गर्‍यौं । नगरी नहुने थियो र गर्‍यौं । बिल्कुलै समसामयिक कदम चाल्यौं । होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो । त्यस षड्यन्त्रलाई, हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरुले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौं । पुस ५ गतेको कदम भनेको त्यही हो । हामीलाई झुण्ड्याएर मार्ने जुन डोरी उनीहरुले बनाएका थिए त्यो डोरी हामीले काटिदियौं । षड्यन्त्र छिन्यो । षड्यन्त्र छिनेपछि उनीहरु असाध्यै आत्तिए । उनीहरुले जे योजना गरेका थिए वर्षौंदेखि, उनीहरुलाई त्यही डर थियो प्रतिनिधिसभा भंग गरेर अर्को बाटो लिने हुन् कि भन्ने थियो ।’

अध्यक्ष ओलीले त्यो ‘षड्यन्त्र’ गर्ने समूह को हो भन्नेबारे विस्तृतमा भने खुलाएका छैनन् । यसअघि भने उनले पटक पटक पुष्पकमल दाहाल र माधव नेपालसहितका नेताहरूलाई लक्षित गर्दै तत्कालीन नेकपा फुटाएको आरोप लगाउने गरेका थिए । जवकि, केपी ओलीले दुईपटक संसद्‍ विघटन गरेसँगै ओली र दाहाल अध्यक्ष रहेको तत्कालीन नेकपा विभाजित बनेको थियो ।

‘हाम्रो संगठन ध्वस्त पार्ने, चकनाचुर पार्ने र नेपालमा वामपन्थी आन्दोलन, परिवर्तनकारी आन्दोलन समाप्त पार्ने जुन योजना थियो त्यस योजनालाई हामीले, त्यसको फेरि प्रत्यक्ष सम्बन्ध छैन । त्यो संसद आफू केही होइन । संसदको आफैंमा त्यसको अस्तित्व त्यस्तो थियो ? होइन । त्यसका क्रियाशील पात्रहरु जो थिए उनीहरुको षड्यन्त्र र त्यसको पृष्ठभागमा बसेका पुतली नचाउने कुसुलेहरु थिए । उनीहरुको हिसावले प्रतिनिधिसभा भंग गर्नै नहुने कुरा थियो । गर्नै नहुने काम थियो । किनभने त्यो गरिसकेपछि हामी जे गर्थ्यौं त्यसबाट हामीलाई समाप्त पार्ने उनीहरुको योजना खत्तम हुन्थ्यो । हाम्रो लागि त्यो नगरी नहुने अपरिहार्य थियो । त्यो राजनीतिक, संवैधानिक, संसदीय कदम थियो,’ ओलीले भनेका छन् ।

सर्वोच्च अदालतले त्यसबेला गैरकानुनी भनेको संसद्‍ विघटनको कदमलाई नेता ओलीले भने ‘प्रतिक्रियावादी षड्यन्त्रको विरोधमा जाने एउटा सचेत कदम’ भन्दै व्याख्या गरेका छन् । कान्तिपुरबाट