April 19, 2026, Sunday
२०८३ बैशाख ६

करिब एक क्विन्टल सुन प्रकरण : अर्थमन्त्री महतले गरे विमानस्थलको निरीक्षण

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । अर्थमन्त्री महत आज बिहान निरीक्षणका लागि आज बिहान विमानस्थल पुगेका हुन् ।

केही दिनअघि राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएर बाहिरिएको ब्रेक शु बरामद गरेपछि विमानस्थल पुगेका अर्थमन्त्री महतले भन्सारका कर्मचारीहरूसँग सोधपुछ गरेका छन् ।

उक्त सुन तस्करको अनुसन्धान जारी भइरहेको बेला महतले विमानस्थलको निरीक्षण गरेका हुन् । यसअघि गृहमन्त्री नारायणकाजी लगायतले पनि निरीक्षण गरेका थिए । विमानस्थलको भन्सारबाटै ठूलो मात्रामा सुन पास भएको घटनापछि त्यसमा संलग्न नाइकेलाई खोजी गर्न सरकारलाई दबाब परेको छ ।

राजश्व अनुसन्धान विभागले बुधबार बेलुका ठमेल क्षेत्रको एक घरबाट बरामद गरेको ६६ कार्टुनमा पनि सुन भएको हुन सक्ने आशंका गरिएको छ । विभागका एक अधिकारीले दिएको जानकारीअनुसार सुन रहेको आशंकामा नै ती कार्टुन बरामद भएको हो ।

विभागका महानिर्देशक नवराज ढुंगानाले भने, “हामीले ६६ कार्टुन बरामद गरेका छौँ, त्यसभित्र के छ भन्ने अनुसन्धान भइरहेको छ ।”

विभागको टोलीले बुधबार नै बालुवाटारमा रहेको चिनियाँ नागरिकको गोदामबाट सुन गाल्ने मेसिन बरामद गरेको थियो । पक्राउ परेका भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ नागरिक जेक्युयाङ लीनको बयानका आधारमा अनुसन्धान गर्दा सुन गाल्ने मेसिन भेटिएको थियो ।

साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएर बाहिरिएको ब्रेक शु बरामद गरेको थियो । त्यसभित्र करिब एक क्विन्टल सुन रहेको आशंका गरिएको छ । बरामद भएका ब्रेक शु बाट सुन निकालेर नेपाल राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ ।

त्यहाँ सुरक्षित राखिएको सुन शुक्रबार या आइतबार तौल लिने तयारी गरिएको छ । तर तस्करीमा संलग्न भरियालाई नियन्त्रणमा लिने तर मुख्य योजनाकारलाई पक्राउ नगरेको भन्दै नागरिकस्तरबाट प्रश्नसमेत उठ्ने थालेको छ ।

एमालेद्वारा छानबिनका लागि उच्चस्तरीय समितिको माग

अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको सय किलो सुन बरामत भए पनि त्यसमा संलग्न व्यक्तिलाई कारबाही नगरिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेबाट प्रतिनिधिसभाको बुधबारको बैठक अवरुद्ध भएको छ।  त्यसमा संल्लग्नहरूको अनुसन्धान गर्ने उच्चस्तरीय छानबिन समिति गठनबाट हुनुपर्ने एमालेले माग गरेको छ।

सुन प्रकरणबारे एमालेले उच्चस्तरीय छानबिन समिति बन्ने सुनिश्चितता नभए संसद् अघि बढ्न नसक्ने भन्दै सदन अवरुद्ध गरेको हो। प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि अर्को बैठक साउन १५ गते बस्ने गरी बोलाइएको छ। बुधबार १ बजे बोलाइएको बैठक निर्धारित समय भन्दा झण्डै दुई घण्टापछि बसेको थियो।  

बैठकको सुरुमा बोल्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले सुन काण्डका दोषीलाई कारबाही गर्नुपर्ने मात्र बताएनन् एक अर्काेलाई आरोप प्रत्यारोपसमेत भएको थियो। आकस्मिक कुरामा मात्र सांसदले भनाइ राखेपछि शून्य समय सुरु हुँदा एमालले बेल घेराउ गरेर नाराबाजी गरेपछि संसद्का सबै बाँकी काम अवरुद्ध भएका थिए। त्यसपछि सभामुखले कार्यसूचीमा रहेका विषय हटाइ अर्को बैठक पाँच दिनसम्मका लागि स्थगित गरेका थिए।  

संसद बैठक बस्नुअघि बुधबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न नदिने निर्णय गरेको थियो।

सुन तस्करीबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सय किलो सुन तस्करी प्रकरणको छानबिन गर्न माग गर्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ। बुधबार दर्ता भएको प्रस्तावमा गत साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मोटरसाइकलको ब्रेक सु र सेभिङ ब्लेडमा राखेर एकसय किलो सुन ल्याएको भेटिएको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार परीक्षणको सञ्चालन र त्यहाँको प्रणालीमा नै गम्भीर प्रश्न उबजहाज कुर्दा कुर्दै कोल्टीमा विरामीको उब्जाएको उल्लेख छ।

यति ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास गर्‍यो ? सो सम्बन्धी विस्तृत अनुसन्धान गर्न सरकारलाई माग गर्न भनिएको छ। सरकारले अब सुनको अवैध आयात तथा तस्करीको संगठित अपराध नियमन गर्न के–कस्तो पहल लिएको छ, यदि पहल गरेको भए उक्त पहलमा के–कति प्रगति भएको छ, सोको बारे सरकारसँग जानकारी माग गर्न प्रस्ताव दर्ता गरिएको उल्लेख छ।  

भन्सारभित्रबाट नै भएका तस्करीको भविष्यमा कडा रोकथामका सम्बन्धमा सरकारले के कस्तो कार्ययोजना पहल गरेको छ सोबारे सरकारसँग जानकारी माग गर्नुपर्ने उल्लेख गरिएको छ। सरकारले बरामद भएका सुनको प्रयोग के–कसरी गर्ने सोचेको छ त्यसको स्पष्ट खाका सरकारबाट माग गरिएको छ ।