April 19, 2026, Sunday
२०८३ बैशाख ६

सङ्घीय संसद्का दुबै सदनबाट बजेट पारित, कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं । सङ्घीय संसद्का दुबै सदनबाट बजेट पारित भएको छ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुबै सदनबाट पारित भएको हो।

राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो। बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए। राष्ट्रिय सभा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले समग्रमा बजेटको आकार नै घटेको बताएका छन् ।

मन्त्री महतले समग्रमा पूँजीगत तर्फको सङ्घमा करिब २१ प्रतिशतले बजेट घटेको अवस्थामा स्थानीय र प्रदेशमा ७ प्रतिशतले बजेट घटेको बताए । मिलिनियम च्यालेन्ज एकाउन्ट लागि १० अर्ब ८४ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको र त्यो प्रसारण लाइन र सव स्टेसनमा मुख्य क्रियाकलाप केन्द्रित रहने उनले बताएका छन् ।

बेरुजु रकम समग्रमा समस्या रहेको भन्दै उनले अर्थ मन्त्रालयको मात्रै होइन सवैतिर समस्या रहेको र यसलाई कम गर्न अनुशासन कायम गर्ने कुरामा अर्थ मन्त्रालय जागरूकताका साथ लागिपरेको बताए।

प्रतिनिधि सभाबाट यही असार १३ गते आगामी आवको बजेट पारित भएको थियो। सरकारले गत जेठ १५ गते सङ्घीय संसद्का दुबै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो। सङ्घीय संसद्का दुबै सदनबाट बजेट पारित भएसँगै आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ।