April 18, 2026, Saturday
२०८३ बैशाख ६

बजेटमा मत विभाजनको तथ्य : सरकारको समर्थन घट्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागअनुसार प्रतिनिधिसभासले पहिलो पटक विनियोजन विधेयक (बजेट)माथि मत विभाजनबाट पारित गरेको छ । पुस १० गते बनेको एमालेसहितका दलहरुको समर्थनमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएको थियो ।

त्यस समयमा २ सय ७५ सदस्यीय प्रतिनिधिसभा उमस्थित २७० जनामध्ये विश्वासको मतको पक्षमा २ सय ६८ मत परेको थियो भने विपक्षमा २ मत परेको थियो । प्रधानमन्त्री दाहालको सरकारलाई नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका २ सांसदहरुले विपक्षमा मत दिएका थिए । त्यस समयमा २ सय ७० मत खसेको थियो ।

प्रधानमन्त्री दाहालले चैत ६ गते दोस्रो पटक संसद्बाट विश्वासको मत लिएका थिए । एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिँदा त्यो संख्या घटेर १ सय ७२ खुम्चिएको थियो । त्यस समयमा विपक्षमा ८९ मत परेको थियो भने नेमकिपा तटस्थ बसेको थियो ।

फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा पूर्व सहमतिअनुसार आफ्नो उम्मेदवारलाई मत नदिएको भन्दै एमालेले समर्थन फिर्ता लिएको थियो भने राप्रपाले पनि पुस १० गते भएको सहमति कार्यान्वयन भएको भन्दै बाहिरिएको थियो ।

प्रधानमन्त्री दाहाललाई कांग्रेस,माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी,जनमत पार्टी,राष्ट्रिय जनमोर्चा लगायतले यसपटक विश्वासको मत दिएका हुन् । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी २७५ सांसद रहेकामा २६२ जना सांसद उपस्थित रहेका थिए ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा भएको विनियोजन विधेयकमाथिको एमालेले मत विभाजन मागेका थिए । बैठकमा एमालेका सचेतक महेश बर्तौलाले बजेटमाथि मत विभाजन मागेपछि सभामुख देवराज घिमिरेले प्रक्रिया सुरु गरेका थिए ।

बुधबार प्रतिनिधिसभामा २५५ जना उपस्थित रहेकोमा बजेटको पक्षमा १ सय ४७ र विपक्षमा १ सय ८ मत पर्‍यो । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका थिए । त्यसैगरी विपक्षमा एमाले, रास्वपा, राप्रपा, नेमकिपासहितका विपक्षमा मतदान गरेका थिए ।

प्रतिनिधिसभामा पहिलो पटक मत विभाजनमार्फत बजेट अनुमोदन गरेको हो । बजेट अनुमोदनपछि प्रतिनिधिसभाबाट बाहिरिएका प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि संसदको विश्वास घटेको बताएका छन् । प्रतिनिधिसभाले पहिलो पटक मत विभाजनमार्फत बजेट अनुमोदन गरेपछि प्रक्रिया व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेता ओलीले ९९ प्रतिशत समर्थन रहेको सरकारले समर्थन घटेर ५३ प्रतिशत बनेको बताए ।

‘सरकारमाथिको विश्वासमा पहिले ९९.९९ प्रतिशत थियो । अहिले घट्यो, ५३ प्रतिशतमा घट्यो । के भन्दा के हुनुपर्‍यो ?’ ओलीले भने । प्रतिनिधिसभाको बैठकमा एमालेले विनियोजन विधयकमाथि मत विभाजन मागेपछि मतदान भएको थियो । पक्षमा १ सय ४७ र विपक्षीमा १ सय ८ मत परेको थियो । संसदले पहिलो पटक मत विभाजनमार्फत आर्थिक विनियोजन विधेयक पारित गरेको हो । कान्तिपुरबाट