April 19, 2026, Sunday
२०८३ बैशाख ६

शिव शिखर सहकारीका पूर्वअध्यक्ष शर्मा पक्राउ, चौध अर्ब भन्दा बढी रकम हिनामिना गरेको आरोप

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । चौध अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनलाई भारतको मुम्बईबाट पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको सीआईबीको टोलीले उनलाई मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर नेपालगञ्ज बोर्डरबाट गएराति नेपाल ल्याइएको हो । “गएराति नेपालगञ्ज बोर्डरबाट हामीले पक्राउ गरेका हौँ । आज हामी यसबारे डिटेल सार्वजनिक गर्दैछौँ,” सीआईबी स्रोतले भन्यो ।

संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरूले सीआईबी र सहकारी विभागमा शर्माविरुद्ध उजुरी दिएका थिए । २०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो ।

शर्माले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए । तर संस्था संकटमा परेपछि पूर्वअध्यक्ष शर्मा बेपत्ता भएका थिए । शर्मा भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएका थिए ।

बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि पनि फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त दिएपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा सीआईबीले यही असार १ गते एक सूचना जारी गरी काठमाडौं र ललितपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेका रकम हिनामिना भई ठगी हुन गएको भए प्रमाणसहित जाहेरी दिन आह्वान गरेको थियो ।