मौद्रिक नीति समीक्षा : बैंक दर घटाइयो, ब्याज दर पनि घट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको ब्याज तिर्ने अवधि जरिबाना नलाग्ने गरी तीन महिना थप गर्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्दै बैंक दर घटाउने निर्णय गरिएको हो।
नियमित ब्याज भुक्तानी गरिरहेका ऋणीलाई नेपाल राष्ट्र बैंकले उक्त व्यवस्था असारभित्र गर्ने मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत जानकारी दिएको हो । यस्तो सुविधा नियमित ऋणको ब्याज भुक्तानी गरिरहेकाहरूलाई ल्याइने बताइएको छ ।
राष्ट्र बैंकले बैंकदर १ प्रतिशत बिन्दुले घटाएर ७.५ प्रतिशत कायम गरेको छ। यसअघि बैंकदर साढे ८ प्रतिशत थियो। राष्ट्र बैंकले बैंक दरमा उपलब्ध हुँदै आएको दैनिक तरलता सुविधा ७ प्रतिशतमा सीमित गरेकाले अन्तरबैंक ब्याजदर १.५ प्रतिशत बिन्दुले घट्न पुगेको छ।
बैंक तथा वित्तीय संस्थाहरूलाई सहुलियत दिने क्रममा राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सिडी रेसियो) गणना गर्दा ऋणपत्रलाई स्रोतको प्रयोग गर्न पाउने सुविधा बढाएर २०८० पुससम्म पुर्याएको छ।
सिडी रेसियो सुविधा ६ महिना थप गर्दा बैंकहरुलाई सहजीकरण गर्ने हुने देखिएको छ। राष्ट्र बैंकले पछिल्ला दुई त्रैमाशमा लगातार ऋणात्मक भएका क्षेत्रका ऋणीहरूलाई पुनर्कर्जा सुविधा दिने भएको छ। यसको विधि र क्षेत्र एकीकृत निर्देशनमा आउने छ।
राष्ट्र बैंकले आवश्यकता र औचित्यका आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित ५ करोड रुपैयाँसम्मको कर्जालाई २०८० असारभित्र पुनसंरचना र पुर्नतालिकीकरण गर्ने सुविधा दिएको छ।
त्यसैगरी अल्पकालिन तथा चालूपुँजी प्रकृतिका कर्जाहरूलाई पनि ३ महिनासम्मको म्याद थप गर्ने सुविधा दिएको छ। सावाँ तथा ब्याज भुक्तानी गर्ने ३ महिनासम्मको अवधिमा थप शुल्क र हर्जना लिन पाइने छैन।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दा चालू निर्माण उद्योग थोक तथा खुद्रा गाडी तथा मोटरसाइकल क्षेत्र ऋणात्मक देखाएको छ।





प्रतिकृया दिनुहोस्