April 18, 2026, Saturday
२०८३ बैशाख ५

उत्तराखण्ड र सुदूरपश्चिम जोड्न भारतसँग ‘मानसखण्ड सर्किट’ प्रस्ताव गर्छौंः मन्त्री साउँद

महेन्द्रनगरः परराष्ट्रमन्त्री एनपी साउँदले भारतको उत्तराखण्ड र सुदूरपश्चिमलाई जोड्न मानसखण्ड सर्किट बनाउनुपर्ने प्रस्ताव तयार गर्न लागिएको बताएका छन् । उक्त प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी भारत भ्रमणका क्रममा भारत सरकारसमक्ष राख्नेगरी तयारी भइरहेको मन्त्री साउँदले बताए ।
आज कञ्चनपुरको कृष्णपुर नगरपालिका –४ मालुबेलास्थित स्वामी समैजीक्षेत्र विकास तथा सनातन धर्म संरक्षण समितिको १३ औँ साधारण सभामा सम्बोधन गर्दै मन्त्री साउँदले भने, ‘मानसखण्ड क्षेत्रका धार्मिक, पर्यटकीय क्षेत्र जोड्न सर्किट बनाउन सकिन्छ, भारत र नेपालतर्फ कति धार्मिकस्थल छन्, कसरी जोड्न सकिन्छ भनेर प्रस्ताव तयार गर्न भनेको छु । उक्त प्रस्ताव समयमै तयार भए अब हुने प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय प्रधानमन्त्रीसमक्ष मानसखण्ड सर्किटको प्रस्ताव राख्छौँ ।’ सोही कार्यक्रममा बोल्दै उनले डडेल्धुराको परशुराम र भारतको पूर्णागिरी जोड्न तथा झुलाघाटमा पक्की पुल निर्माणको आवश्यकता रहेको समेत उनले बताए ।
सरकारले बनाउने भनेको नेपालकै पहिलो चिकित्सा विश्वविद्यालय सञ्चालनका लागि ऐन बनाउने काम तीव्र गतिमा भइरहेको पनि मन्त्री साउँदले बताए । उनले भने, ‘गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रूपमा छिट्टै सञ्चालनमा ल्याउन सरकारले तीव्र गतिमा काम गरिरहेको छ ।’विश्वविद्यालय निर्माणले सुदूरपश्चिम क्षेत्रको स्वास्थ्यलगायत अन्य क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको उनले बताए । उनले भने, ‘सुदूरपश्चिमको स्वास्थ्यलगायत समग्र विकासमा यस विश्वविद्यालयको महत्त्वपूर्ण योगदान रहनेछ, गेटालाई देशकै पहिलो मेडिकल कलेज बनाउने निर्णय मन्त्रीपरिषद्ले गरिसकेको छ ।’

यस्तै देशको विकासका लागि सबै नेताहरू दलीय स्वार्थभन्दा माथि उठ्न आवश्यक रहेको पनि मन्त्री साउँदले बताए । सुदूरपश्चिम सम्भावना बोकेको प्रदेश भएको छ, उनले भने, पर्यटकीय, पूर्वाधार, शैक्षिकलगायत दृष्टिकोणले सुदूरपश्चिम निकै सम्भावना बोकेको क्षेत्र हो, त्यसमै थुप्रै चुनौती पनि छन्, ती चुनौती चिर्दै अगाडि बढ्नुपर्छ ।’ यस्तै, विकासका सवालमा सबैले एक भएर लाग्नुपर्ने बताउँदै उनले भने, ‘विकासको सवालमा दलीय स्वार्थभन्दा माथि उठेर सबै एक भएर लागौँ ।’