बैतडीमा जीप दुर्घटनाहुदाँ एकै गाउँका ६ को मृत्यु, पाँचजनाले हामफालेर ज्यान जोगाए

धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बैतडीको जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका हुन । प्रहरीका अनुसार से १ ज ७६४ नम्बरको जिप दुर्घटनामा परेको हो। यो जिप झुलाघाटबाट बझाङस्थित बाग्थला जाने क्रममा दुर्घटनामा परेको थियो।
बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामीको मृत्यु भएको उनले बताए । उनीहरू सबै एकै गाउँका रहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।
‘दुर्घटनामा परेर ६ जनाको मृत्यु भयो। मृतकहरू सबै एकै गाउँको रहेको पाइएको छ,’ उनले भने, ‘पाँच जनाले हामफालेर ज्यान जोगाएका छन्, उनीहरूको अवस्था सामान्य छ।’
जीप सवार पाँचजना सकुशल छन् । जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको हो । भारतबाट रोजगारी गरेर बिसु मनाउनका लागि घर फर्केकाहरु दुर्घटनामा परेका हुन् ।
जिपका चालक अर्जुन बोहरा सम्पर्कविहीन भएकोले खोजी कार्य जारी रहेको बैतडी प्रहरीको भनाइ छ।
सिन्धुलीमा कार दुर्घटना हुदाँ ४ भारतीय नागरिकको मृत्यु
त्येसैगरी सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ गढीगेटनजिक कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ। भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ मा गए राति १२स्३० बजे भारतीय नम्बर प्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको बताए ।
मृतक चारै जना पुरुष रहेका छन्। मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले बताए। गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौ पठाउने तयारी रहेको उनले बताए। कारमा पाँच जना सवार थिए।





प्रतिकृया दिनुहोस्