April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

जनगणनाको अन्तिम नतिजा सार्वजनिक : नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुग्यो

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदन अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको हो ।

तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको जनसंख्या अनुसार अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो।

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत् २५ कात्तिकदेखि ९ मंसिर ०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।गणना २०७८ अनुसार सन्दर्भ दिन २०७८ साल मंसिर ९ गतेलाई राखिएको छ।

सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौंमा २० लाख ४१ हजार ५८७ जनसंख्या छ भने सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङमा पाँच हजार ६८५ जना मानिस छन्।

भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (एक करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ।

प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ।

सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुरमा

सबैभन्दा बढी वृद्धिदर भक्तपुर जिल्लामा देखिएको छ। यहाँ ३.५ प्रतिशतले बढ्दा रामेछाप जिल्लामा भने सबैभन्दा बढी घटेको देखिएको छ। यो जिल्लामा हरेक वर्ष १.६७ प्रतिशतले जनसंख्या घटेको देखिएको छ। एक वर्ष किलोमिटरमा १९८ जना बस्छन् जनघनत्व (प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) बढेको छ। अहिले एक वर्ग किलोमिटरमा १९८ जना बस्ने गरेको देखिएको छ।

२०६८ सालमा १८० जना मात्रै बस्‍ने गरेका थिए। भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ। सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा रहेको छ। यहाँ एक वर्ग किलोमिटरमा पाँच हजार १६९ जना बस्ने गरेको छन्।

सबैभन्दा कम मनाङ जिल्लामा तीन जना मात्रै बस्ने गरेका छन्।

परिवारको संख्या ६६ लाख ६६ हजार ९३७

प्रतिवेदनअनुसार अहिले नेपालमा ६६ लाख ६६ हजार ९३७ परिवार छन्। जसमध्ये व्यक्तिगत परिवार (एकल) ६६ परिवार ६० हजार ८४१ र संस्थागत परिवार (संयुक्त) ६ हजार ९६ रहेका छन्। एक परिवार बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ। २०६८ सालमा ४.८८ जना रहेको थियो । यस हिसाबले परिवारका सदस्यको संख्या घटेको देखिन्छ।

नगरमा बस्ने बढे गाउँमा घटे

नगरपालिकाहरूमा बस्ने जनसंख्या बढेको छ। जम्मा जनसंख्याको ६६.१७ प्रतिशत नगरपालिकामा बस्ने गरेका छन्। गाउँपालिकाहरूमा बस्ने घटेका छन्। जम्मा जनसंख्याको ३३.८३ प्रतिशत गाउँमा बस्छन्।

२०६८ को जनगणनामा नगरपालिकाहरूमा बस्ने जनसंख्या ६३.१९ प्रतिशत रहेको थियो भने गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३६.८१ प्रतिशत रहेको थियो।

साढे १५ लाख परिवारका करिब २२ लाख नागरिक विदेशमा

जनगणनाले करिब २२ लाख नागरिक विदेशमा रहेको देखाएको छ। जम्मा १५ लाख ५५ हजार ९६१ परिवारका कोही न कोही सदस्य विदेशमा रहेको देखिएको छ। त्यसमा २१ लाख ९० हजार ५९२ जना परिवारमा अनुपस्थित रही विदेशमा बसेको तथ्यांक कार्यालयले जनाएको छ।

जसमध्ये पुरुष १७ लाख ९९ हजार ६७५ जना (८२.२ प्रतिशत) र महिला तीन लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) रहेका छन् । २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए ।

३ प्रतिशत बालबालिका आमा-बुवा दुबैसँग बस्न पाउँदैनन्

१८ वर्षमुनिका बालबालिकाको जनसंख्या कुल ९८ लाख ६९ हजार ५८३ जना देखिएको छ। यीमध्ये ७.९ प्रतिशत बालबालिकाहरू आमाबाबु दुबैसँग बस्ने गरेका छन् । आमासँग मात्र बस्ने बालबालिका १७.१ प्रतिशत बस्ने गरेका छन्। बाबुसँग मात्र बस्ने बालबालिका १ प्रतिशत र अन्य नातेदारसँग बस्ने बालबालिका ३ प्रतिशत रहेको छ।

३१ प्रतिशत परिवारमा महिलाको नेतृत्व

नेपालमा कुल ६६ लाख ६६ हजार ९३७ परिवार छन्। जसमध्ये ३१.५५ प्रतिशत परिवार मूली महिला रहेका छन्। २०६८ को तुलनामा ५.८२ प्रतिशत बिन्दुले बढी हो ।