सुदूरपश्चिम विश्वविद्यालयको १० क्याम्पसमा आज निर्वाचन सुरु, ४ क्याम्पसमा अझै छैन टुङ्गो

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आङ्गिक क्याम्पसमा स्ववियु नेतृत्वका लागि आज निर्वाचन सुरु भएको छ । विश्वविद्यालय अन्तर्गतका १५ क्याम्पस मध्ये १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचनका लागि मतदान सुरु भएको हो ।
स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भए पनि आन्तरिक विवादका कारण सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्तासमेत हुन सकेको थिएन ।
केन्द्रीय क्याम्पसले आगामी २१ गते निर्वाचनको नयाँ मिति तय गरे पनि अन्य ४ क्याम्पसमा भने निर्वाचनको मिति अझै तय हुन सकेको छैन । बाँकी ४ क्याम्पसमा स्ववियु निर्वाचन गराउनका लागि विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासन अझै छलफलमा रहेका छन् ।
१७ क्याम्पसलाई तत्काल स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयको पत्र
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका १७ आंगिक क्याम्पसलाई तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको छ ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन हुन नसकेका १७ क्याम्पसका क्याम्पस प्रमुखलाई पत्रचार गर्दै निर्वाचनको प्रक्रिया तत्काल अघि बढाउन पत्राचार गरेका हुन् ।
‘देशभरिका आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा यही चैत ५ गते स्ववियु निर्वाचन कार्य सम्पन्न हुनुपर्नेमा त्यस क्याम्पसमा के कति कारणले निर्वाचन हुन नसकेको हो ? तत्काल क्याम्पसका सम्बद्ध पक्षसँग समझदारी कायम गरी तत्काल स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन गरिन्छ,’ सदस्य सचिव अधिकारीले लेखेको पत्रमा उल्लेख छ ।
निर्वाचन प्रक्रिया अगाडि बढाउन उपत्यकाका सात र उपत्यका बाहिरका १० आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखलाई निर्देशन दिँदै बिबादका कारण खोज्दै सहमति जुटाउन पनि निर्देशन दिएको हो ।





प्रतिकृया दिनुहोस्