April 18, 2026, Saturday
२०८३ बैशाख ५

विश्वासको मतको वातावरण बनाइ दिन मुख्यमन्त्री शाहले भेटे रेशम चौधरीलाई

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक नेता रेशम चौधरीलाई भेटेका छन् ।काठमाडौंको डिल्लीबजारस्थित कारागारमा रहेका चौधरीलाई भेटेर मुख्यमन्त्री शाहले आफूलाई विश्वासको मत दिने वातावरण बनाइदिन आग्रह गर्दै भेटेका हुन् ।

भेटमा भएको कुराकानीको विषयबारे भने दुवै पक्षले सार्वजनिक गरेका छैनन् । नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितका अनसार मुख्यमन्त्री शाहसँगको भेटवार्तामा के–के विषयमा छलफल भयो भन्ने बारे खुलेको छैन । शाह नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने कुराको टुंगो डिल्लीबजार कारागारबाटै लाग्ने छ ।

पछिल्लो राजनीतिक परिस्थितिपछि सुदूरपश्चिम प्रदेशसभामा निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिदा एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेपछि शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएका शाहले विश्वासको मतका लागि काडमाण्डौमा दौडधुप जारी राखेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग उनले भेटवार्ता गरेका छन् । मुख्यमन्त्री शाहले सोमबार अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।

भेटघाटमा अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । भेटमा नेपालले मुख्यमन्त्री शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

संविधानको धारा १६८ को उपधारा(३) बमोजिम मुख्यमन्त्री बनेका शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४, स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशी समेत गरेर शाहको पक्षमा २४ जना प्रदेशसभा सदस्य देखिएका छन् ।

उनले विश्वासको मत पाउन थप ३ जना प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ । ७ जना प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको अवस्थामा उनी नेतृत्वको सरकार जोगिनेछ । नाउपाले साथ नदिएको अवस्थामा संघ र केही प्रदेशमा माओवादीको सरकारलाई कांग्रेसले विश्वासको मत दिएकाले सुदूरपश्चिममा पनि माओवादीले साथ दिनेमा कांग्रेस नेताहरु आशावादी देखिन्छन् ।