April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गयो : तीन घर भत्किए, थप विवरण आउन बाँकी

धनगढी बाजुरामा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताएका हुन ।

बझाङको चैनपुरमा कृषि ज्ञान केन्द्रको भवन भूकम्पले भत्काएको छ। उक्त भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको थियो। त्यस्तै, चैनपुरस्थित एक होटलको छतमा बनाइएको मन्दिर भूकम्पले भत्केको छ। यद्यपि बाजुरा, बझाङ लगायत जिल्लामा भूकम्पको धक्काबाट कतिपय भौतिक संरचना भत्किएका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

बाजुराको बडिमालिका नगरपालिका र ९ मा तीन घर भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले बताए । बाजुराको बडीमालिका नगरपालिका–७ र ९ मा तीन घर भत्किएका हुन् । “अहिलेसम्म तीन घर भत्किएको सूचना आएको छ । बडीमालिका–७ मा एक र बडीमालिका–९ मा दुई घर भत्किएको छ,” उनले भने, “अहिलेसम्म मानवीय क्षतिको सूचना छैन । हामी विवरण संकलन गर्ने क्रममा छौँ ।”

उद्दारका लागि प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।

भूकम्पको धक्का पश्चिम नेपालको नेपालगञ्ज, सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लासँगै छिमेकी भारतका कतिपय स्थानमा पनि महसुस गरिएको बताइएको छ ।

यसअघि कात्तिकको तेस्रो साता सुदूरपश्चिमको डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । केही मानिस घाइते भएका थिए । भने ठुलो धनजनको क्षेति भएको थियो । त्यसबेला सयौं परकम्प पनि गएका थिए । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो परकम्प नभई नयाँ भूकम्प हो ।