April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड सहित पहाडी जिल्लामा हिमपात

धनगढी सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । सोमबार राति र मंगरबार हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । भने हिउँले खप्तड लगायत पहाडी क्षेत्रका डाँडाकाँडा रमणीय भएका छन्।

बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायत पहाडी जिल्लाका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ । सिगासका किसान दानसिंह बोहराका अनुुसार गए रातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात भएको हो । वर्षा र हिमपातका कारण चिसो बढेको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएसंगै चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो कुरा सेवन गर्न, घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको किसान बोहराले बताए ।