April 18, 2026, Saturday
२०८३ बैशाख ५

सरकारमा सहभागिताबारे राप्रपाको मुख्य सर्त : ‘पुस २७’ मा सार्वजनिक बिदा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुने कि नहुने भन्ने पुस २७ मा सार्वजनिक बिदा हुन्छ कि हुन्न भन्ने विषयले निधो गर्ने भएको छ । राप्रपाका नेताहरूले सरकारले पुस २७ लाई पृथ्वी जयन्तीका रूपमा मनाएर सार्वजनिक बिदा दिएमा सरकारमा सहभागिताका लागि बाटो खुल्ने बताइरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री नियुक्त गर्नका लागि राष्ट्रपति कार्यालयमा १४ सांसदको हस्ताक्षर बुझाएको राप्रपाले सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा भने सर्त राखेको थियो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पुस २७ गते सरकारले सार्वजनिक बिदा दिएमा मन्त्रिपरिषद्मा सहभागिताबारे राप्रपाले थप छलफल गर्ने बताए ।

‘राप्रपा मन्त्रिपरिषद्मा सहभागी हुने कि नहुने भन्ने बटमलाइन पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा बिदा दिनुपर्छ भन्ने भन्ने बटमलाइन हो । त्यो बाहेक राष्ट्रियता, विकास, सेवा प्रवाहलगायतका विषय रहेका छन्,’ प्रवक्ता श्रेष्ठले भने । उनले राप्रपाले यसअघि सार्वजनिक रूपमा राखेका सर्तमा पार्टी कायमै रहेको बताए ।

सरकारमा सहभागी हुनका लागि सरकारसामु राप्रपाले केन्द्रीय कार्यसमितिबाटै सर्तसहित निर्णय गरेको थियो । राप्रपाले केन्द्रीय कार्यसमितिबाट पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने, मन्त्रिपरिषद्ले गरेका नीतिगत निर्णय पनि अख्तियारको छानबिनको दायरामा ल्याउनुपर्ने, यसै आर्थिक वर्षभित्र कृषि मल कारखाना स्थापनाको प्रक्रिया थाल्नुपर्ने, सबै अस्पतालमा स्वास्थ्य बिमा लागू गर्नुपर्नेलगायत सर्त पूरा भएमा मन्त्रिपरिषद्मा सहभागी हुने निर्णय गरेको थियो ।

सांसदसहित कार्यसमितिका बहुसंख्यक सदस्यहरूले सरकारमा सहभागी हुनुपर्ने धारणा राखेपछि राप्रपाले लचिलो सर्त अगाडि सारेको थियो । निर्वाचनमा उठाइएका हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाबारे भने सर्त राखेको थिएन ।

राप्रपाले कति मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन । १४ सांसद रहेको राप्रपाले वाग्मती प्रदेश सरकारको मुख्यमन्त्री पनि दाबी गरिरहेको छ ।

प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत संसद्‍बाट लिँदैछन् । त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको छ । त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा निरन्तर सत्तारुढ गठबन्धनका नेताहरूबीच छलफल भइरहेको छ । कान्तिपुरबाट