भूकम्प पीडितलाई राहत रकम हस्तान्तरण

डोटी- भूकम्पबाट घर भत्किदाँ च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । डोटीको पूर्वीचौँकी गाउँपालिका–३ गैरागाउँमा गत बुधबार राती भूकम्पबाट घर भत्किदाँ च्यापिएर मृत्यु भएका मृतक ६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो ।
गत बुधबार राती खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर गएको भूकम्पबाट घर भत्किदाँ च्यापिएर ६ जनाको मृत्यु भएको थियो । जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्तहरु पदमबहादुर बोहरालाई चार लाख, विष्नादेवी बोहरालाई तीन लाख र महावीर बोहरालाई दुई लाख राहत रकम घटनास्थलमा गई वितरण गरिएको विपद् व्यवस्थापन समितिकी संयोजक तथा डोटीकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।
यसैगरी पूर्ण क्षति भएका १८ घरपरिवारलाई टेन्ट, ब्ल्याङ्केट, खाद्यान्न उपलब्ध गराइएको छ । सायल गाउँपालिकामा घर चर्किका भूकम्प पीडितहरुका लागि पनि ३०/३० थान त्रिपाल र ब्ल्याङ्केट पठाइएको र पूर्वीचौकीको सिमलडाँडाका १० घरपरिवारलाई आज कात्तिक २६ गते राहत सामग्री पठाउने व्यवस्था मिलाइएको प्रजिअ श्रेष्ठले जानकारी दिइन् ।
यसैगरी भूकम्पका कारण यहाँका अन्य स्थानीय तहमा भएको भौतिक क्षतिका विषयमा प्राविधिक, नजिकको प्रहरी एकाइ र रेडक्रसको संलग्नतामा प्रारम्भिक विवरण संकलन भइरहेको जिल्ला प्रशासनले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी विभिन्न निर्णयका साथै भौतिक क्षतिको सर्भे, मूल्यांकनका लागि प्राविधिक कर्मचारी पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध गरिएको छ ।
भूकम्पबाट जिल्लाका अन्य पालिकाहरुमा घरहरु चर्केको तथा भत्केको भए पनि पूर्वीचौकी र सायल गाउँपालिकामा बढी भौतिक क्षति पुगेको छ । पूवीचौकी गाउँपालिकामा मानिस नबस्ने दुई घरसहित ३० घरमा पूर्ण क्षति भएको छ भने अन्य धेरै घरहरु चर्केको निरीक्षण टोलीले जनाएको छ ।
निरीक्षण टोलीमा प्रजिअ कल्पना श्रेष्ठ, पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, सशस्त्र प्रहरी उपरिक्षक वीरसिंह शाहु, प्रमुख अनुसन्धान अधिकृत दीगम्वर गिरी, रेडक्रस सोसाइटीका सभापति लक्षिराम कुँवरको सहभागिता रहेको छ ।





प्रतिकृया दिनुहोस्