सुदूरपश्चिम प्रदेशमा दुई सयवटा परकम्प, सतर्क रहन भूकम्प मापन केन्द्रको आग्रह

डोटी – डोटी केन्द्रविन्दु भएर गएराति गएको भूकम्पपछि सुदूरपश्चिम प्रदेशमा दुई सय परकम्प गइसकेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले आज दिउँसो १ बजेसम्म दुई सय परकम्प गइसकेको जानकारी दिएका हुन ।
प्राविधिक सहायक शर्माका अनुसार गएराति र त्यसअघि राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र आज बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
शर्माले भने, “लगातार तीनपटक एकै स्थानमा केन्द्रविन्दु बनाएर तीन ठूला भूकम्प गएका छन् । ती बाहेक चार रेक्टर स्केलभन्दा मुनिका दुई सय परकम्प गइसकेका छन् ।”
मंगलबार राति र बुधबार विहान डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भयो भने ५ जना घाइते भए का छन् । दिपायललाई केन्द्रविन्दु बनाएर मंगलबार राति ९ः०७ मिनेटमा गएको ५.७ म्याग्निच्युडको भूकम्प गयो भने खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विहान २ः१२ मा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो।
विज्ञहरु भने डोटी भूकम्पलाई ‘खतराको घण्टी’का रुपमा लिनुपर्ने बताउँछन् । खानी तथा भूगर्भ विभागका पूर्वामहानिर्देशक सोमनाथ सापकोटा यस्ता भूकम्पले ठूलो भूकम्प आउने खतरा नटर्ने, तर सम्भावित ठूलो विपदको बारेमा सचेत गराउने बताउँछन् । भूकम्पछि परकम्पनहरु आइरहेकाले सतर्क रहन भूकम्प मापन केन्द्रले सबैमा आग्रह गरेको छ ।





प्रतिकृया दिनुहोस्