सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अबरुद्ध, यात्रुलाई सास्ती

धनगढी : बुधबारदेखि लगातार भइरहेको बर्षाका कारण सुदूरपश्चिम प्रदेशका मुख्य राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्य राजमार्ग भीमदत्त र केआईसिँह अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको हो।
भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो गएको छ। पहिरोका कारण यातायात सेवा पुर्णरुपमा बन्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ।
लगातारको वर्षाका कारण सुदूरपहाडका राजमार्ग तथा ग्रामिण सडकहरु अवरुद्ध भएका छन्। बझाङको बित्थडतिर गाउँपालिका १ मा पर्ने भाराभिरकटरमा करिब ४ मिटर लम्बाइको वाल भत्किदा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
दार्चुलामा पनि पहिरो जाँदा आवागमनमा समस्या भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका ६ पनेबाजमा पहिरो खस्दा गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ । सोहि सडक खण्ड अन्तरगत नकतड भन्ने ठाउँमा पनि माथिबाट माटोको ढिस्को खस्दा आवागमन बन्द भएको प्रदेश प्रहरी प्रवक्ता भोला बहादुर रावलले बताए ।
प्रदेश प्रहरी प्रवक्ता रावलले भने- अबिरल बर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा यात्रुलाई निकै सास्ती भएको छ । सबै अवरुद्ध सडक खुलाउन डोजर पठाइसकेको छ, अब चाँडै सडक सुचारु हुने छ । पहाडी जिल्लाहरुमा वर्षाका कारण टेलिफोन र विद्युत सेवासमेत अवरुद्ध हुँदै आएको छ।





प्रतिकृया दिनुहोस्