April 19, 2026, Sunday
२०८३ बैशाख ६

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने, आजै बेलुका शपथ

काठमाडौं : अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न गराएको र उक्त दिनको सीसीटीभी फुटेजसमेत डिलिट गरेको आरोप लागेपछि राजीनामा दिएका शर्मालाई अर्थ मन्त्रालयमा फेरी फर्काइने भएको हो ।

शर्माले एकदिन भए पनि अर्थ मन्त्रालय फर्किन चाहेको र प्रधानमन्त्री देउवा तथा माओवादी अध्यक्ष प्रचण्डसमेत उनैलाई पुनः अर्थमन्त्री बनाउने पक्षमा देखिएपछि शर्माको कमब्याक निश्चित भएको बताएको छ ।

सोहीअनुसार शर्माको आज नियुक्ति भएर आइतबार बेलुका नै शपथ दिलाउने तयारी भएको माओवादी केन्द्रीय कार्यालय निकट श्रोतले जानकारी दियो । ‘अध्यक्षले प्रधानमन्त्रीकहाँ स्थायी कमिटी सदस्य शर्मालाई अर्थमन्त्री नियुक्त गर्न निर्देशन दिनुभएको छ, उहाँको आजै बेलुका शपथ हुन्छ’, श्रोतले भन्यो ।

शर्माको नियुक्तिका लागि सिफारिस पत्र बोकेर आइतबार बिहानै प्रचण्ड बालुवाटार पुगेका थिए । अब सरकारको सिफारिसअनुसार राष्ट्रपतिले शर्मालाई नियुक्ति गरेर शपथ गराउनेछिन् ।

संसदीय विशेष छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो ।संसदीय छानबिन समिति गठनपछि असार २२ गते पदबाट राजीनामा दिएका शर्माले पुनः सरकारमा फर्किनकै लागि पुल्चोकस्थित मन्त्री क्वार्टरसमेत छाडेका थिएनन् ।