April 19, 2026, Sunday
२०८३ बैशाख ६

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो, तर तत्काल मूल्य नघट्ने

काठमाडौँ : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो ।

निगमका अनुसार शनिबार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । भारतबाट इन्धनको मूल्य घटेर आए पनि उपभोक्तालाई भने तत्काल सोअनुरुप लाभ नमिल्ने भएको छ ।

आईओसीले अहिले घटाएर पठाए पनि यसअघिको नोक्सानीको असर परिरहेकाले सोनुरुप नेपालमा तत्काल तेलको मूल्य नघट्ने निगमका एक अधिकारीले बताए । नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । सो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ ।