April 18, 2026, Saturday
२०८३ बैशाख ५

एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु, सुत्केरी महिला सहित तीन जना घाइते

धनगढी : एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु भएको छ । प्रहरीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीमा तीन दिनअघि सुत्केरी भएकी अनिता एम्बुलेन्समार्फत घर जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको हो । एम्बुलेन्समा सुत्केरी महिलाका तीन जना आफन्त सवार थिए । उनीहरू समेत घाइते भएका छन् । घाइतेहरूको बेलौरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

एम्बुलेन्स अनियन्त्रित भएर घरमा ठोक्किएको बेलौरी प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्स चालक ज्ञानेन्द्र बोहरा प्रहरी नियन्त्रणमा छन् । दुर्घटनामा परी अनितासँगै २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीय माघी खत्री घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायव निरीक्षक रमेशसिंह बुढाथोकीले जानकारी दिए ।