April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाजुराको बुढिगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने

बाजुरा : वैशाख ३० गते स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन हुने भएको छ । कांग्रेसद्वारा पुनः मतदान र एमालेद्वारा गणना हुनुपर्ने लामो समयको खिचातानीपछि बिहिवार जिल्ला प्रशासन कार्यलयमा बसेको सर्वदलिय बैठकबाट पुनः निर्वाचन गराउन सहमत भएका हुन् ।

बिहिवार जिल्ला प्रशासन कार्यलयमा बसेको नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एकिकृत माओवादी, नेकपा एकिकृत समाजवादी लगायत ६ वटा राजनितिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सहितको सहभागितामा निर्वाचन मिति तय भएको हो ।

निर्वाचन आयोगले यसअघि नै बुढीगंगामा पुनः निर्वाचन गर्ने निर्णय गर्दै मिति तोक्ने अधिकार जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयलाई दिएको थियो ।

वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ छ ।

बुढीगंगा नगरपालिकाको २, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेको आरोप लागेको थियो । यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए ।

नगरपालिकाको वडा नम्बर ४ मा बुथ कब्जा गरेर ९९.४१ प्रतिशतसम्म मत खसाइएको थियो । एमालेले कब्जा गरेका भनिएका २, ३, ५ र ९ मा सुरक्षकर्मिहरु मतेपटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए । काँग्रेसले कब्जा गरेको भनिएका ७ र ९ मा प्रहरीले संरक्षण गरिरहेको थियो ।

यस्तै एमालेले नियन्त्रणमा राखेर मतदान गरेको भनिएका मध्ये वडा ९ स्थित त्रिशक्ति मावि मतदानस्थलमा १ हजार ४ सय ८३ मतदाता संख्या रहेकामा १ हजार ३ सय ४७ मत खसेको छ । जुन ९०.८२ प्रतिशत हुन आउछ ।

बुढीगंगाको विवाद अध्ययन गर्न निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोलीले स्थलगत अध्ययन गरेर फिर्ता गएको थियो । प्रतिबेदनमा मतगणना हुनुपर्ने उल्लेख भएपनि आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो ।

नेकपा एमाले मतगणना हुनुपर्ने माग राख्दै उच्च अदालत दिपायलमा रिट दर्ता गरेको छ । हाल उक्त रिट बिचाराधिन अबस्थामा रहेको छ ।