१२ देखि १७ वर्षका बालबालिकालाई आजदेखि कोभिडविरुद्धको बुस्टर डोज दिइँदै

काठमाडौं : बालबालिकालाई आजदेखि कोभिडविरुद्धको बुस्टर डोज दिइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई शुक्रबारदेखि कोभिडविरुद्धको बुस्टर डोज दिइने भएको हो।
स्वास्थ्य मन्त्रालयले २४ जेठमा गरेको निर्णयअनुसार १२ देखि १७ वर्ष उमेरसमूहलाई बुस्टर डोज दिन लागिएको स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले जनाएको छ।
१७ वर्षमुनिका बालबालिकामा मोडेर्ना र फाइजर खोप प्रयोगमा आए पनि बुस्टर डोजका लागि दुईमध्ये जुनसुकै खोप पनि प्रयोगमा ल्याउन सकिने खोप शाखाले जनाएको छ।
यसअघि १२ देखि १७ वर्ष उमेर समूहलाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो । उनीहरुलाई आजबाट बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप दिने सरकारको तयारी छ ।
बुस्टर डोजका लागि खोपको दुई मात्रा लगाएको तीन महिना पूरा हुनुपर्नेछ। ‘१२ देखि १७ बर्षसम्मका बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाए पनि हुन्छ,’ खोप शाखा प्रमुख सागर दाहालले भने, ‘पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयमा सम्पर्क राखेर खोप लगाउन जान सकिन्छ ।’
चिकित्सकका अनुसार बालबालिकामा बुस्टरका लागि फाइजर खोपको ०.३ एमएल र मोडेर्ना खोप बुस्टरको रूपमा दिँदा ०.२५ एमएल दिनुपर्ने मापदण्ड छ।
हालसम्म १८ वर्षभन्दा माथि उमेरसमूहमा बुस्टर खोपको रूपमा ५० लाख ५८ हजार नौ सय ६५ डोज खोप प्रयोगमा आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर हालसम्म १२ वर्षमाथिका लक्षित जनसंख्यामा ८५.६ प्रतिशतले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।





प्रतिकृया दिनुहोस्