आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गरिँदै

काठमाडौँ : नेपाल सरकारले आज आगामी आर्थिक वर्ष ०७९/८० को बजेट ल्याउँदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान बमोजिम आज सरकारले बजेट ल्याउँन लागेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार दिउँसो ४ बजे संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ ।
उच्च आयात र घट्दो विप्रेषणका कारण भुक्तानी सन्तुलनमा चाप परेकाले आन्तरिक उत्पादनलाई जोड दिने गरी नयाँ बजेट ल्याउने सरकारको तयारी छ । योजना आयोगले आगामी आवको बजेटका लागि १७ खर्ब ४५ अर्बको सीमा निर्धारण गरिदिएको थियो ।
यस अघि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/०७९ सार्वजनिक संस्थानको वार्षिक स्थिति, समीक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७/०७८ को यथार्थ र आर्थिक वर्ष २०७८/०७९ को चैतसम्मको विवरण प्रतिनिधिसभा बैठकमा पेस गरेका थिए ।
शनिबार नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारिता भएको थियो । नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । त्यसमाथि संसद्मा तीन दिन छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गरेका थिए ।
शनिबारै सभामुखले निर्णयार्थ पेस गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि सांसद्ले राखेको जिज्ञासाको जवाफ दिएका थिए ।





प्रतिकृया दिनुहोस्