April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटीको सायलमा एमालेको सत्ता पल्टाउँदै कांग्रेस विजयी

डोटी । डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी निर्वाचित भएका छन् । एमालेका उम्मेदवार तेजबहादुर डुम्रेललाई पराजित गर्दै जोशी निर्वाचित भएका हुन् ।

उनीहरू दुबैजना २०७४ को स्थानीय तह निर्वाचनका पनि प्रतिस्पर्धी हुन् । उतिबेला डुम्रेल निर्वाचित भएका थिए ।

यसपटक अध्यक्षमा जोशीले ३ हजार २४३ मत प्राप्त गरि जीत हासिल गर्दा डुम्रेलल २ हजार २४० मत प्राप्त गरे । नेकपा एकीकृत समाजवादीसँगको तालमेलमा उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार डबलबहादुर साउँदले ५ सय ३२ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि कांगे्रसकै निर्मला बोहरा ओली निर्वाचित भइन् । उनले २ हजार ९३७ मत प्राप्त गर्दा एमालेकी विष्नादेवी सिंहले २ हजार १५४ मत प्राप्त गरिन् । सिंह निवर्तमान उपाध्यक्ष पनि हुन् । यस्तै माओवादी केन्द्रसँगको तालमेलमा उठेका नेकपा एसका टिका सिंहले ६ सय २६ मत प्राप्त गरे ।

६ वटा वडा रहेको यो पालिकामा ५ वटामा कांग्रेस जित्दा एकमा एमाले जित्यो । अघिल्लो निर्वाचनमा एकमात्रै कांग्रेसले जितेको थियो भने, पाँचमा एमाले जितेको थियो ।

यसपटक वडा नम्बर १ मा एमालेका लालबहादुर रोकायाको प्यानल विजयी हुँदा बाँकी वडामा कांग्रेसको प्यानल विजयी भए । जसमा वडा नम्बर २ मा मानबहादुर सिंह, वडा नम्बर ३ मा नवराज उपाध्याय, वडा नम्बर ४ मा जगतबहादुर सिंह, वडा नम्बर ५मा बहादुर साउँद र वडा नम्बर ६ मा दीपकबहादुर साउँदको प्यानल विजयी भएको छ ।