April 18, 2026, Saturday
२०८३ बैशाख ५

यी पराजित उम्मेदवार–जसले आफ्नो चुनावी प्रतिवद्धतापत्र हस्तान्तरण गर्दै विजयीलाई दिए बधाई

डोटीः जोरायल गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट विद्यार्थी नेता जितेन्द्र बोहरा उम्मेदवार बनेका थिए । उम्मेदवार बनेपछि उनले आफ्नै प्रतिवद्धता बनाएर प्रतिस्पर्धामा ओर्लिएका थिए । जसमा उनले वडाका आवश्यकताहरू समेटेर आफ्नो पाँचवर्षे योजनाहरू राखेका थिए ।
तर उनी पराजित हुनपुगे । सो वडामा नेकपा एमालेका उम्मेदवार नन्दराज भट्ट निर्वाचित भए । भट्टले एकहजार ४१ मत ल्याएर विजयी हुँदा बोहराले आठसय चार मत प्राप्त गरेर उपविजेता बनेका थिए ।
पराजित भएपछि उम्मेदवार बोहराले विजयी उम्मेदवार भट्टलाई भेटेर बधाई दिएका छन् ।
साथै आफ्नो प्रतिवद्धतापत्र बुझाउँदै जसमा समेटिएका योजना र लक्ष्यहरूको कार्यान्वयनमा जोड दिन पनि आग्रह गरे । ‘मैले उहाँलाई बधाई दिएर सँगै आफ्नो प्रतिवद्धतापत्र पनि हस्तान्तरण गरे,’ उनले भने,.‘साथै वडाको विकासका आफू हातेमालो गरेर अगाडि बढ्न तयार रहेको कुरा पनि जानकारी दिएको छु ।’