April 18, 2026, Saturday
२०८३ बैशाख ५

चुनावको भिडिओ अपलोड गरी २० देखि ५० लाख भ्युज बनाए आयोगले नगद पुरस्कार दिने

काठमाडौँ : निर्वाचन आयोगले चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचारप्रसार गरे नगद पुरस्कार दिने भएको छ। आयोगले एक सूचना प्रकाशित गर्दै चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचारप्रसार गरी २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउनेलाई नगद पुरस्कार दिने भएको हो ।

वैशाख ३० गते हुने स्थानीय चुनावका लागि आयोगले बनाएका सन्देशमुलक भिडिओ आफ्नो पेज, एकाउन्ट र संस्थाका पेजमा अपलोड गर्न सकिने आयोगले बताएको छ।

प्रतियोगिताअन्तर्गत आयोगले तयार पारेका सन्देशमूलक भिडियोहरूलाई टिकटक बनाई सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ । यस्तै, पहिलेकै स्वरूपमा पनि सामाजिक सञ्जालमा पोस्ट गर्न सकिनेछ । आयोगले तयार पारेका भिडियोहरू आयोगका सामाजिक सञ्जालमा अपलोड गरिएको छ ।

त्यसरी पोस्टरसेयर गरेर बीस लाखभन्दा बढी भ्युअर पुर्‍याउने व्यक्ति वा संस्थाले पुरस्कार जित्नेछन् । ५० लाख वा त्योभन्दा बढी भ्युअर पुर्‍याउनेले ५० हजार, ३० लाख वा त्योभन्दा बढी भ्युअर पुर्‍याउनेले ३० हजार र २० लाख वा त्योभन्दा बढी भ्युअर पुर्‍याउनेले २० हजार रुपैयाँ पुरस्कार जित्ने आयोगले जनाएको छ ।

त्यस्ता भिडिओहरू आयोगका ट्वीटर, युट्युव र फेसबुक तथा भाइबरमा अपलोड गरिसकिएका छन्। त्यस्ता भिडियो यही वैशाख २९ गतेभित्र सामाजिक सञ्जालमा पोस्टरसेयर गरिसक्नुपर्नेछ ।