April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्थानीय तह निर्वाचन : सुदूरपश्चिमका अधिकांश पालिकामा सत्ता गठबन्धनको तालमेल मिलेन

धनगढी : सत्ताधारी दलका नेताहरुले व्यक्तिगत राजनीतिक नाफा घाटा हेरेका कारण गठबन्धनका सूत्रधार प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेस सुदूरपश्चिममा नै सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल हुन सकेन ।

सबै दलहरुले आफ्नो शक्ति बढी भएको आंकलन गर्नु, प्रदेस र संसदीय निर्वाचनमा आ-आफ्नो चुनावी क्षेत्रलाई बचाउने प्रयासले पनि गठबन्धन भत्किएको हो ।

प्रदेस राजधानी रहेको प्रदेशको सबैभन्दा बढी स्थानीय तह भएको कैलाली गठबन्धन भएको छ । दार्चुला र बझाङका केही पालिकामा गठबन्धन भए पनि अन्यत्र केन्द्रमा रहेका सत्ता गठबन्धनका दलहरु एकगठ हुन सकेनन् । उम्मेदवार मनोनयनको अन्तिम दिनसम्म पनि दलका नेताहरुले गरेको प्रयास सार्थक हुन नसकेपछि मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गर्दै दलका बैठक सकिएका थिए ।

कैलालीमा पनि केन्द्रीय नेताहरुको दबाबपछि मात्र मनोनयनको अन्तिम दिन बिहान दलहरुबीच सहमति भएको हो । कैलालीमा पालिका स्तरमा सहमति भएपनि वडा स्तरमा भने दलहरुले मित्रवत प्रतिस्पर्धा गरिरहेका छन् ।

गत स्थानीय निर्वाचनमा एमाले र कांग्रेसको समान वर्चस्व रहेको सुदूरपश्चिममा समाजवादी र माओवादीले भागबण्डामा हैसियतभन्दा निकै बढी माग गरेका कारण गठबन्धन भत्किएको कांग्रेस नेताहरुको आरोप छ । तर माओवादी र समाजवादीका नेताहरु भने सबै दलले आफ्नो शक्ति बढी आंकलन गरेका कारण गठबन्धन हुन नसकेको प्रतिक्रिया दिएका छन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकेन्द्र भट्टले भने, ‘आफ्नो–आफ्नो चुनावी क्षेत्र बलियो बनाउने नेताहरुको सोचका कारण पनि गठबन्धन हुन नसकेको हो ।’ केन्द्रीय सदस्य भट्टका अनुसार कांग्रेस नेताहरुको बढी महत्वाकांक्षाले पनि गठबन्धन हुनुमा बढी समस्या देखिएको हो ।

समाजवादीका केन्द्रीय सदस्य तारा जोशी पनि सबै दलले आफ्नो आफ्नो शक्ति बढी आंकलन गरेका कारण गठबन्धन हुन नसकेको प्रतिक्रिया दिएका छन् । गठबन्धनको गृहकार्य पनि व्यवस्थित तरिकाले हुन सकेन’ जोशीले भने, ‘०५४ र ०७४ का दुवै स्थानीय तह निर्वाचनमा हार बेहोरेको कांग्रेसको एक्लै पनि धेरै स्थानीय तह जित्ने आंकलन पनि गठबन्धन हुन नसक्नुको प्रमुख कारण हो ।’ समाजवादी र माओवादी केन्द्रले पनि अलि बढी भाग माग्नुलाई जोशी गठबन्धन हुन नसक्नुको कारण ठान्छन् । उनी भन्छन्, ‘संख्याभन्दा पनि कुन स्थानीय तह कसले लिने भन्नेमा बढी विवादका कारण गठबन्धन हुन नसकेको हो ।’

सुरुदेखि नै गठबन्धनको विरुद्धमा रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेस अध्यक्ष वीरबहादुर बलायर माओवादी र समाजवादीको महत्वाकांक्षाले गर्दा गठबन्धन प्रभावकारी हुन नसकेको बताउँछन । बलायर भन्छन्, ‘कांग्रेस धेरै लचिलो हुँदा पनि अरु दलहरुको महत्वाकांक्षका कारण गठबन्धन हुन नसकेको हो । धेरै कुरा जिल्ला स्तरमा मिलाउन नसक्नु पनि गठबन्धन नहुनको अर्को कारण हो ।’ उनका अनुसार गठबन्धन नभएपनि स्वस्थ प्रतिस्पर्धा गर्दा लोकतान्त्रिक अभ्यास भने हुन्छ ।

गठबन्धन नहुनुमा नेताहरुको निर्णय शक्तिको अभाव पनि प्रमुख कारण भएको राजनीतिक विश्लेषक डा. मोहन भट्ट बताउँछन् । ‘सबै पार्टीका केन्द्रीय सदस्य र नेताहरुको लामो सूचि रहेको सुदूरपश्चिममा गठबन्धनको गृहकार्य पनि निकै ढिलो भएको हो,’ उनले भने । हरेक निर्णयका लागि प्रदेस र केन्द्रको मुख ताक्ने प्रवृत्तिले गर्दा पनि दलहरु बीच गठबन्धन हुन नसकेको उनले बताए ।

कांग्रेसका स्थानीय इकाइहरु सुरु देखि नै गठबन्धनको विरोधमा थिए । अत्तरीया प्राविधिक क्याम्पसका प्रमुख रामचन्द्र ऐर भन्छन्, ‘समाजवादी र माओवादीको आवश्यकतालाई कांग्रेसले पुरा गर्न सक्ने परिस्थिति नभएकाले पनि गठबन्धन हुन नसकेको हो ।’ गठबन्धनमा २० देखि ४० प्रतिशतसम्म मतमात्रै जान सक्ने बताउँदै उनले भने, ‘माओवादी र समाजवादीका लागि ५० देखि ६० प्रतिशत मत दिनुपर्ने अवस्था बुझेको कांग्रेस नेतृत्वले पनि गठबन्धन चाहेको थिएन । कतै एमालेसँग तालमेल हुन्छ कि भन्ने चिन्ता कांग्रेसलाई थियो ।’

सबै दलका २० देखि ३५ जनासम्म केन्द्रीय सदस्य रहेको सुदूरपश्चिममा गठबन्धन नहुनुको प्रमुख कारण चाहिँ नेताहरुका आ–आफ्ना राजनीतिक स्वार्थ रहेको कार्यकर्ताहरुको बुझाइ रहेको छ । कञ्चनपुरका कांग्रेस कार्यकर्ता सिद्धराज जोशी भन्छन्, ‘गठबन्धनको कुरा नगरेको भए हुन्थ्यो । गठबन्धन हुन नसक्दा सबै दल भित्र लथालिंग अवस्था छ । सबैभन्दा बढी समस्या कांग्रेसमा देखिएको छ ।’ गठबन्धनको मनस्थिति बनाएर चुनावी अभियानमा लागेका नेता कार्यकर्ताहरुको मनस्थिति बिथोलिएको पनि उनले बताए । कान्तिपुरबाट