April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटीको सायल गाउँपालिका अध्यक्षमा कांग्रेसबाट जोशी सर्वसम्मत उम्मेदवार

डोटी : डोटीको सायल गाउँपालिकाको गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसले गाउँमै सर्वसम्मत उम्मेदवार टुंग्याएको छ । गाउँपालिका कार्यसमितिको बिहीबार बसेको बैठकले क्षेत्रीय सभापति धर्मराज जोशीको नाम सर्वसम्मत उम्मेदवारका लागि सिफारिस गरेको हो ।

जोशी २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि गाउँपालिका अध्यक्षका प्रत्यासी रहेका थिए । जहाँ नेकपा एमालेका उम्मेदवार तेजबहादुर डुम्रेल निर्वाचित हुँदा कांग्रेस उम्मेदवार जोशी झिनो मतले पछि परेका थिए ।

घिल्लो निर्वाचनमा सायलमा रहेको कुल ८ हजार नौ सय २८ मतमध्ये ६ हजार ३ सय ३ मत खसेको थियो । जसमध्ये एमाले उम्मेदवार डुम्रेलले २ हजार ६ सय ३१ म्त पाउँदा कांग्रेस उम्मेदवार जोशीले २ हजार २ सय ५८ मत प्राप्त गरेका थिए भने, नेकपा माओवादी केन्द्रका उम्मेदवार बलबहादुर ओलीले ५ सय ६९ मत पाएका थिए ।

डुम्रेल र जोशीकाबीचमा मतान्तर ३ सय ७३ मतको थियो । यो समीकरण अनुसार यसपटक सायलमा कांग्रेस फाइदा पुग्ने देखिएको छ । एमाले विभाजन भएको अवस्थामा स्वतः कांग्रेसलाई फाइदा पुग्नसक्ने तथ्यांकले देखाउछ ।

यस्तै अघिल्लो निर्वाचनमा विवादकाबीचमा टिकट पाएका कांग्रेस उम्मेदवार जोशीले आफै पनि यसपटक गाउँमा स्थिती सुधारेका छन् । यसकारण पनि उनको सर्वसम्मत उम्मेदवारी सम्भव देखिएको हो ।

अघिल्लो निर्वाचनमा चुनाव हारेपछि निरन्तर जनतामाँझ गइरहने, जनताका सवालहरूलाई उठान गर्ने र महामारीका बेला पनि जनतासँगै रहने छवी उनले दर्शाएका छन् । सोही कारण उनको उम्मेदवारी यसपटक दर्विलो रहने अनुमान गरिएको छ ।