April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्थानीय तह निर्वाचन : एकतिहाइ मतदानस्थल ‘अति संवेदनशील’

काठमाडौँ : सरकारले एकतिहाइ मतदानस्थललाई सुरक्षा जोखिमका दृष्टिकोणले अति संवेदनशील सूचीमा राखेको छ । २०७९ वैशाख ३० मा देशभर एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनमा २ हजार ९ सय ४५ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको हो ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा ४ हजार ४ सय २० मतदानस्थल संवेदनशील र ३ हजार ३ सय ९१ लाई सुरक्षा जोखिमका दृष्टिकोणले सामान्य अवस्थाको सूचीमा समेटिएको छ । 

जिल्ला सुरक्षा समितिले मतदानस्थललाई सुरक्षाका दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन समूहमा वर्गीकरण गरेर जिल्ला निर्वाचन कार्यालयमार्फत निर्वाचन आयोगमा सूची पठाएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा जोखिमका आधारमा वर्गीकरण गरिएको मतदानस्थलको विवरण भने आयोगले सार्वजनिक गरेको छैन ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अध्यक्ष रहने जिल्ला सुरक्षा समितिले अन्तर्राष्ट्रिय सीमा नाका, सशस्त्र तथा कानुनविरोधी समूहका गतिविधि, प्रमुख राजनीतिक दलहरूबीच बढी प्रतिस्पर्धा हुने स्थान, विगतको चुनावी परिणाम, विगतमा निर्वाचनविरोधी गतिविधि, जनसंख्या, शान्तिसुरक्षाको स्थितिलगायतलाई आधार मानेर मतदानस्थललाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गर्ने गरेको छ ।

नेपालका ३ दर्जनभन्दा बढी जिल्ला भारत र चीनसँग सीमा जोडिएका छन् । भारतसँग सीमा जोडिएका जिल्लाका सीमावर्ती अधिकांश मतदानस्थल संवेदनशील सूचीमा समेटिएको स्रोतको भनाइ छ ।

आयोगका अनुसार निर्वाचनमा देशभर १० हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र (मतपेटिका) रहनेछन् । सरकारले आगामी निर्वाचनकेन्द्रित मतदानस्थल तथा मतदान केन्द्रमा प्रहरी र म्यादी, बाहिरी सुरक्षामा सशस्त्र प्रहरी तथा ब्याकअपका रूपमा अस्थायी बेस खडा गरी सेना परिचालन खटाउने तयारी गरेको छ ।

अतिसंवेदनशील मतदानस्थलमा ५ प्रहरी र ८ म्यादी, संवेदनशील स्थलमा ४ प्रहरी र ६ म्यादी तथा सामान्य सुरक्षा स्थिति भएका मतदानस्थलमा ३ प्रहरी र ५ म्यादी खटाउने सुरक्षा रणनीति छ । निर्वाचनमा १ लाख म्यादी, करिब ६५ हजार प्रहरी, करिब ३२ हजार सशस्त्र र करिब ७० हजार सैनिक परिचालन गर्ने योजना छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा १० हजार ६ सय ७१ मतदानस्थल र १८ हजार ५ सय ८३ मतदान केन्द्र थिए । यसअघिको निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४ सय २४ मतदाता रहेकामा ३६ लाख ६१ हजार २ सय ९९ मतदाता थपिएका छन् ।

१ हजार मतदाता थप भए एउटा मतदान केन्द्र थप गर्ने निर्णयअनुसार मतदाताको संख्याअनुसार केन्द्र र मतदानस्थल थप भएको आयोगले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले आवश्यकताअनुसार मतदानस्थल र मतदान केन्द्रको सुरक्षामा जनशक्ति तैनाथ गरिने बताए ।

कान्तिपुरबाट