April 18, 2026, Saturday
२०८३ बैशाख ५

अनुमति नलिई प्याराग्लाइडिङ गर्ने अष्ट्रियाका नागरिक पक्राउ

बैतडी : अनुमति नलिई प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ। अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरिएको हो।

जेल्नरले कानुन विपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौंडी क्षेत्रमा प्याराग्लाइडिङ गर्दै आएका थिए।

प्याराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले बिनाअनुमति प्याराग्लाइडिङ गरेकाले पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।

जेल्नरसँग अष्ट्रियामा प्याराग्लाइडिङ गर्ने अनुमतिपत्र रहेको छ भने नेपालका लागि अनुमति नरहेको भारतीले बताए। मार्च ३० तारिखसम्म नेपालमा रहने पर्यटक प्रवेशाज्ञा रहेका उनलाई कारबाहीका लागि नागरिक उड्डयन कार्यालय धनगढी पठाइएको छ।