April 18, 2026, Saturday
२०८३ बैशाख ५

वीरेन्द्रनगरमा निषेधाज्ञा हटाइयो, संवेदनशील स्थानलाई निषेधित क्षेत्र घोषणा

सर्खेत : अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगरमा सोमबारदेखि लगाइएको निषेधाज्ञा हटाइएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा हटाएर केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आज साँझ ७ बजेसम्म लगाइएको निषेधाज्ञाको सट्टा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम संवेदनशील स्थानलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् । साँझ ७ बजेदेखि लागु हुने गरी वीरेन्द्रनगरका हटिलाइन, हटियचोक, मङ्गलगढी चोक र एरिचोकलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । ती क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन । 

“निषेधाज्ञा जारीपछि वीरेन्द्रनगर शान्त नै रह्यो, निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने अवस्था देखिएन,” रिजालले भने, “सुरक्षाका दृष्टिकोणले संवेदनशील देखिएका स्थानमा लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको हो ।”

आन्दोलनकारीले सुर्खेतका पार्टी कार्यालय र प्रहरी बिट तोडफोडका साथै आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । 

जिल्ला प्रशासनका अनुसार अर्को आदेश नहुञ्जेल ती क्षेत्रलाई नाराजुलुस गर्न निषेध गरिनेछ । निषेधित क्षेत्रमा सभा, जुलुस गर्ने उद्देश्यले पाँच जनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भएको पाइएमा स्थानीय प्रशासन ऐनबमोजिम कारबाही गरिने प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस