April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेपालमा काेराेना संक्रमणदर ओरालो लाग्दै, एक सातामा १६ प्रतिशतले घट्यो

काठमाडौं : नेपालमा कोराेना संक्रमणदर घट्दो क्रममा छ । एक सातामा कोरोना संक्रमणदर १६ प्रतिशतले घटेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबारको मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारले अघिल्लो साता भन्दा यो साता १६.१ प्रतिशतले संक्रमणदर घटेको जानकारी दिनुभयो । अघिल्लो हप्ता ५९ हजार ४५९ पीसीआर परीक्षणमा १७ हजार ८३० संक्रमण पुष्टि भएको थियो ।

यो साता कुल ६५ हजार ९४ मध्ये सात हजार ४१० संक्रमण पुष्टि भएकोे छ । ‘यो संक्रमणदर ११.४ प्रतिशत हो । अघिल्लो साताको संक्रमणदर ३० प्रतिशत थियो । एक सातामा संक्रमणदर १८.६ प्रतिशतले कम भएको छ’, उहाँले भन्नुभयो । गत हप्ता ३१ हजार २२१ एन्टिजेन परीक्षणमा सात हजार ६०० संक्रमित देखिएको थियाे। परीक्षण भएका मध्ये २४.४ कोरोना पुष्टि भएका थियो ।

साताको औषत संक्रमणदर ११.९ प्रतिशत

यो साता कुल २४ हजार ९३ परीक्षणमा तीन हजार २३७ पोजेटिभ रिपोर्ट आएको छ । यो भनेको संक्रमणदर १३.४ प्रतिशत हो। डा. अधिकारीका अनुसार अघिल्लो साताको तुलनामा संक्रमणदर एन्टिजेनतर्फ ११ प्रतिशतले कम देखिएको छ । यो साताको औषत संक्रमणदर ११.९ प्रतिशत रहेको सहप्रवक्ता डा.अधिकारीले जानकारी दिनुभयो । गत साताको तुलनामा औषत संक्रमणदर १६.१ प्रतिशतले कम भएको पनि उहाँको भनाइ छ ।

सहप्रवक्ता डा. अधिकारीका अनुसार २४ घण्टाको पीसीआर परीक्षणको संक्रमणदर ७.१ रहेको छ । २४ घण्टामा आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ५२१ जनामा कोरोना पुष्टि भएको छ । ३९ सय ३५ जना संक्रमणमुक्त भएका छन् भने १० जना संक्रमितको मुत्यु भएको छ।

नेपालमा निको हुने दर ९६.५ प्रतिशत

नेपालमा २४ घण्टामा पाँच लाख छ हजार १२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा ५३ लाख ४० हजार १८६ जनाको आरटी पीसीआर परीक्षण गर्दा नौ लाख ७३ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, १० लाख १७ हजार २४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक लाख ३७ हजार ४१२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये नौ लाख ३८ हजार ५८३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९६.५ प्रतिशत रहेको छ । त्यस्तै, ११ हजार ८९२ जना संक्रमितको मुत्यु भएको छ ।

नेपालमा मुत्युहुने दर १.३ प्रतिशत रहेको छ । २२ हजार भन्दा बढी सक्रिय संक्रमित नेपालमा २२ हजार ५८४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होम आइसोलेसनमा २१ हजार ६९२, संस्थागत आइसोलेसनमा ८९२ रहेका छन् । संस्थागत आइसोलेसनमा भएका मध्ये १८१ आइसियु र ३३ जनाको भेन्टिलेटरमा उपचार हुँदै आएको छ ।

सक्रिय संक्रमित भएका जिल्लाहरु

पाँच सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरु मोरङ, सुनसरी, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, कास्की, बाँँके र कैलाली रहेका छन् । त्यस्तै, दुई सय भन्दा बढी भएका जिल्लाहरु झापा, सिरहा, सप्तरी, सर्लाही, धादिङ, तनहुँ, रुपन्देही, पाल्पा, दाङ र कन्चनपुर गरी १० जिल्ला रहेका छन् । मनाङमा शुन्य संक्रमित रहेका छन् ।

कतिले लगाए खोप

नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म सरकारले तीन करोड ५३ लाख १५ हजार ७१५ मात्रा खोप लगाएको छ। जसमध्ये एक करोड ८२ लाख ३८ हजार ९९२ जनाले एकमात्रा र एक करोड ६३ लाख ५७ हजार ९७७ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । त्यस्तै, सात लाख १८ हजार ७४६ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् । कुल जनसंख्याको ७२.३४ जनाले एकमात्रा र ५६ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।

यस्तै, १८ वर्ष माथिका लक्षित जनसंख्यामा ८९.९ प्रतिशतले एकमात्रा र ७५ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । १२ वर्षदेखि १७ वर्ष सम्मका बालबालिकामा ८६ प्रतिशतले एक मात्रा र ४० प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । गोरखापत्रबाट