April 18, 2026, Saturday
२०८३ बैशाख ५

आजदेखि अग्रपंक्तिमा काम गर्नेलाई बुस्टर डोज खोप, को-कोले पाउँछन् ?

काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रम अन्तर्गत आजबाट बुस्टर डोज दिने भएको छ । अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई आजबाट बुस्टर डोज खोप दिने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन आग्रह गरेको थियो ।

सोही अनुसार आजदेखि पहिलो चरणमा अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरुले बुस्टर डोज पाउनेछन् ।

यस्तै सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी दोस्रो चरणमा आउँदो १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई बुस्टर डोज दिइने मन्त्रालयले जनाएको छ ।

६० वर्ष तथा सो उमेरमाथिका नागरिकलाई पनि बुस्टर डोज दिइने भएको छ । ६० वर्ष तथा सो भन्दामाथि उमेर समूहका नागरिकलाई भने माघ १४ गतेबाट खोप दिइने छ ।

स्वास्थ्य सेवा विभागका अनुसार दुबै मात्रा खोप लगाएको ६ महिना भएका नागरिकले पनि १४ गतेबाट खोप लगाउन पाउने छन् ।

स्वास्थ सेवा विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयलाई नागरिकलाई बुस्टर डोज दिन निर्देशन दिइसकेको छ ।