सुदूरपश्चिम प्रदेशमा आज ३८३ जनामा कोरोना पुष्टि, २६७ जना भारतबाट स्वदेश फर्केका मात्रै

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ३१ जनाको परीक्षण मध्ये पीसीआरमार्फत ७३ र ३१० जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आज कोरोना संक्रमण पुष्टि भएका ३८३ जनामध्ये भारतबाट स्वदेश फर्केका २६७ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १८०, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ८६, झुलाघाट नाकाबाट फर्केका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सुदूरपश्चिम प्रदेशका नाका भएर आज एक हजार ७९८ नेपाली स्वदेश फर्केका छन्। भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने क्रम जारी छ। सो क्रममा लक्षणसहित संक्रमण पुष्टि भए धनगढीको आइसोलेसनमा राख्ने गरिएको छ। लक्षण नभएर पनि संक्रमण पुष्टि भएका र एन्टिजेन परीक्षण नेगेटिभ आएकालाई भने सिधै घर पठाउने गरिएको बताइएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशभर १० जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बिहीवार ३१८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
विभिन्न नाका भएर भारतबाट फर्किरहेका व्यक्तिबाट सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण समुदायस्तरमा संक्रमण उच्च हुने खतरा बढेको छ । प्रदेशको चार वटा नाकाबाट दैनिक फर्किरहेकामध्ये कैयौं व्यक्ति परीक्षण नगराइ घरतर्फ गइरहेकाले कोरोना सङ्क्रमण समुदायमा फैलिने खतरा बढेको हो ।
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ।





प्रतिकृया दिनुहोस्