April 18, 2026, Saturday
२०८३ बैशाख ५

एमाले डोटीको अध्यक्षमा भीम रावल निकट मल्ल निर्विरोध

डोटीः नेकपा (एमाले) डोटीको आठौँ जिल्ला अधिवेशनबाट चक्रबहादुर मल्ल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । लामो रस्साकस्सी र सर्वसम्मतको अभ्यासपछि मल्ल दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन् । अध्यक्षमा लक्ष्मण मलासीले पनि दाबी गरेका थिए । अन्तिममा उनले मल्ललाई नै समर्थन गरेपछि सम्पूर्ण जिल्ला कमिटि निर्विरोध निर्वाचित भएको हो ।
अन्य पदाधिकारीमा उपाध्यक्षमा मञ्जु मलासी, सचिवमा शेरबहादुर मल्ल, उपसचिवमा कृष्णबहादुर खड्का र तेजबहादुर डुम्रेल निर्विरोध निर्वाचित भएका छन् ।
पदाधिकारी र सदस्य सहित कुल ८९ सदस्यीय जिल्ला कमिटि निर्विरोध निर्वाचित भएको छ ।
निर्वाचित अध्यक्ष मल्ल एमालेका प्रभावशाली नेता भीम रावल निकट मानिन्छन् । २०६९ सालमा सम्पन्न जिल्ला कमिटिको सातौ अधिवेशनमा उनी पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए ।
नेकपा विवादका बेला रावलसंगै उनी माधव–प्रचण्ड पक्षसंग गएका थिए । त्यसबेला केपी ओली पक्षले जिल्ला समन्वय समितिका संयोजक रहेका रामबहादुर ऐरलाई अध्यक्ष बनाएको थियो । उनी मल्ल अध्यक्ष रहेको कमिटिका सचिव हुन् ।
सर्वोच्च अदातलको उत्प्रेषणको आदेशपछि एमाले–माओवादी केन्द्र छुट्टिदा मल्ल फेरी भीम रावलसंगै एमालेमा फर्किएका थिए । त्यसयता एमाले जिल्ला कमिटिको आधिकारिक अध्यक्षका बिषयमा ‘विवाद’ थियो ।